डेंगु संक्रमण नियन्त्रणका लागि बागलुङमा ‘खोजौं र नष्ट गरौं’ अभियान संचालन गरिएको छ। स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले विभिन्न संस्थाको सहयोगमा सदरमुकाम क्षेत्रमा सो अभियान संचालन गरेका हुन्।
जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, प्रहरी, जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिको सक्रियतामा बागलुङ बजारमा विभिन्न स्थानमा रहेका पानीका खाल्डा पुर्नुका साथै टायर, प्लाष्टिकका बोतलमा जमेको पानी खाली गरिएको छ।
विशेष गरी खाल्डाखुल्डी र टायर, प्लाष्टिकका भाडाँमा पानी जम्ने र लामखुट्टेले उक्त स्थानमा फुल पार्ने हुँदा लामखुट्टे नष्ट गर्नका लागि यो अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिइन्। उनका अनुसार जिल्लाका अन्य ग्रामिण भेगमा पनि यो अभियान संचालन गरिएको छ।
बागलुङमा एक महिनामा २६ जनालाई डेंगु संक्रमण
जिल्लामा पछिल्लो एक महिनामा २६ जनामा डेंगु संक्रमण देखिएकाले यसमा अझै गम्भिर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन्। बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रमा भदौ महिनामा मात्रै २६ जनामा डेंगुको संक्रमण पुष्टी भएकाले यो समस्या जटिल बन्न सक्नेतर्फ सबै सचेत हुनुपर्ने बागलुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए।
धौलागिरी अस्पतालको तथ्यांकअनुसार असारमा ३ जना र साउनमा ३ जनामा संक्रमण देखिएको थियो। अहिले भदौ महिनाको २९ गतेसम्म मात्रै २६ जनामा संक्रमण देखिइएको छ।