अपेक्षाअनुसार किन आउन सकेन विदेशी लगानी ?

सरल प्रक्रिया, पूर्वतयारी, प्रतिफलको सुनिश्चितता र स्थिर नीतिको व्यवस्था गर्न सके मात्रै पर्याप्त विदेशी लगानी भित्रिन्छ

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले हालै सार्वजिनक गरेको विदेशी लगानीसम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा स्वीकृतिको तुलनामा ३६ प्रतिशत मात्रै विदेशी लगानी भित्रिएको देखाएको छ । यो तथ्य हाम्रा लागि चिन्ताको विषय हो, तर नौलो भने होइन । नेपालमा विदेशी लगानीको प्रतिबद्धता आउने अथवा विदेशी लगानी स्वीकृति हुने, तर स्वीकृति÷प्रतिबद्धताअनुसार विदेशी लगानी नआउने प्रवृत्ति रहेको देखिन्छ ।

नेपालमा अपेक्षाअनुसार विदेशी लगानी किन आउन सकेको छैन ? विदेशी लगानीका अवरोधहरू के–के हुन् ? हामीलाई किन विदेशी लगानी चाहिएको हो ? कसरी भित्र्याउन सकिन्छ ? यी विषयमा छलफल तथा समीक्षा हुने गरेको छ । तर, निस्किएको निचोड कार्यान्वयन हुने गरेको छैन । यससँग सम्बन्धित राजनीतिक दल, सरकारी निकाय, कर्मचारी, निजी क्षेत्र, विज्ञ र आमसर्वसाधारणले आफ्ना कमजोरी सुधार्न सकेका छैनन् । त्यसैले नेपालमा अपेक्षाअनुसार लगानी आउन सकेको छैन । विदेशी लगानी कागजमा देखिन्छ, तर वास्तविकतामा छैन । नेपालमा विदेशी लगानी अपेक्षाअनुसार आउन नसक्नु अथवा स्वीकृति/प्रतिबद्धताअनुसार विदेशी लगानी भित्रिन नसक्नुका केही मुख्य कारणलाई यहाँ व्याख्या गर्न चाहन्छु :

झन्झटिलो र लामो प्रक्रिया : विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्छु भनेर प्रतिबद्धता गर्छन्, लगानी स्वीकृति पनि हुन्छ । तर, लगानी ल्याएर काम गर्ने वेला उनीहरूले विभिन्न झन्झट बेहोर्नुपर्ने हुन्छ । विभिन्न मन्त्रालय, विभाग, समितिलगायत दर्जन बढी निकायमा धाउनुपर्छ, त्यहाँबाट स्वीकृति लिनुपर्छ । विदेशमा १ दिनमा हुने कामलाई नेपालमा एक महिना लाग्छ । अनि विदेशी लगानीकर्ता स्वतः हतोत्साही हुन्छन् ।

 खासमा लगानीकर्तालाई एकद्वार सेवा दिन सक्नुपर्छ । सोहीअनुसार लगानी बोर्ड नेपाल स्थापना गरिएको हो । तर, यसले काम गर्न सकेको छैन । बोर्डबाट अघि बढेका परियोजनाले पनि मन्त्रालय र विभागहरू धाउनुपर्ने बाध्यता छ । खासमा बोर्डबाट आएका विदेशी लगानीकर्ताका सम्पूर्ण प्रक्रिया बोर्डले नै पूरा गरिदिनुपर्ने हो । 

भारत, बंगलादेशलगायत देशमा पनि लगानी बोर्डजस्ता संस्था छन् । तिनले पूर्ण रूपमा काम गरेका छन् । विदेशी लगानी पनि अपेक्षाअनुसार आइरहेको छ । यहाँ लगानी बोर्डले निर्णय गर्ने, तर त्यसको कार्यान्वयन नहुने अवस्था छ । प्रधानमन्त्रीले अध्यक्षता गर्ने संस्थाबाट भएको निर्णय कुनै मन्त्रालय वा विभागले अटेर गर्छ, अलमल्याएर राख्छ, अनि कसरी लगानी आउँछ ? म लगानी बोर्डको सिइओ हुँदै एउटा परियोजनाका लागि आवश्यक रूख कटान गर्न अनुमति दिने भनेर दुईपटक बोर्डले निर्णय गर्यो, तर त्यसको कार्यान्वयन धेरै पछि मात्रै भयो । यस्तो प्रवृत्तिले लगानीकर्ता कसरी आकर्षित हुन सक्छन् ? 

समन्वयको अभाव :  विदेशी लगानीको ठूलो समस्या भनेको समन्वयको अभाव पनि हो । यहाँ हरेक विभाग र मन्त्रालयका आ–आफ्ना नियम र कानुन छन् । एकले अर्कोलाई टेर्दैनन्, सहजीकरण गर्दैनन् । उचित समन्वयन नहुँदा लगानीकर्ता अन्योलमा पर्छन् । समन्वय नहुने भएपछि अनुगमन पनि हुँदैन, भए पनि फितलो हुन्छ । सम्झौता एवं नियम कानुनअनुसार निर्माण अथवा उत्पादन गरेको छ कि छैन भनी अनुगमन हुनुपर्छ । तर, यहाँ कुन लगानीलाई कसले हेर्ने भन्नेमै विवाद छ, समन्वय छैन । अर्को कुरा, राजनीतिज्ञ, कर्मचारी, लगानीकर्ता र सर्वसाधारणबीच विश्वासको खाडल छ । एकले अर्कालाई अविश्वास गर्दा पनि लगानी सफल हुँदैन । 

पर्याप्त छलफलविनै अनुमति : कुनै पनि पूर्वतयारी र सरोकारावालासँग छलफलसमेत नगरी विदेशी लगानीकर्तालाई अनुमति÷लाइसेन्स दिनु उचित होइन । यसो गर्दा पछि परियोजना कार्यान्वयनमा जान सक्दैन । कुनै पनि परियोजना अघि बढाउँदा सरकार, जनता र स्थानीयले के पाउँछन् ? यसमा स्पष्ट अध्ययन हुनुपर्छ र सोहीअनुसार सरोकारावालालाई ‘कन्भिन्स’ गराउनुपर्छ । तर, हामी यस्ता तयारी नगरी धमाधम परियोजना सुम्पन्छौँ, अनि पछि राजनीतिक दलबाट विरोध हुने, स्थानीयले अवरोध गर्नेलगायतका समस्या आउँछन् । हाम्रो देशमा विदेशी लगानी, पूर्वाधार निर्माणलगायतको विषयमा शिक्षा र चेतना अभिवृद्धि गर्नसमेत आवश्यकता छ । यहाँ राष्ट्रियता, स्थानीय अधिकारलगायतका नाममा पनि परियोजना रोक्ने प्रवृत्ति छ । यस्तै, सबैलाई विदेशी लगानीको आवश्यकता र महत्वबारे सचेतना बढाउन आवश्यक छ । 

लगानीकर्ताको विषयमा अध्ययन गर्दैनौँ  :  हामी परियोजनाको राम्रोसँग अध्ययन नगरी, पूर्वतयारी नसकी लगानीकर्तालाई हस्तान्तरण गर्छौं, अनि परियोजना बन्न सक्दैन । लगानीकर्ता कस्तो हो, त्यसले कहाँ के कस्तो लगानी गरेको छ जस्ता विषयको अध्ययन नगरी लगानी स्वीकृति दिने हाम्रो प्रवृत्ति छ । हामी त फगत परियोजना बाँडिदिन्छौँ, अनि काम अघि बढेन भने गाली गर्छौं मात्रै । अझ कुनै राजनीतिक दल, मन्त्री, कर्मचारी आदिको निकटकाले ल्याएका लगानीकर्तालाई क्षमता नहेरी तुरुन्तै स्वीकृति दिन्छौँ । अनि उसले न लगानी ल्याउन सक्छ, न परियोजना अघि बढाउन सक्छ । 

नेपाल आकर्षक छ र नेपालीको आतिथ्य संस्कार राम्रो छ भनेर विदेशी पर्यटक नेपाल घुम्न आउँछन् । ‘नेपालमा लगानीको वातावरण राम्रो र छुट सुविधा आकर्षक छन्’ भनेर विदेशी लगानीकर्ता आउने वातावरण किन नबनाउने ?
 

सुरक्षाको प्रत्याभूति खै ? :  परियोजनाका थुप्रै जोखिम हुन्छन् । लगानी, प्रतिफललगायत जोखिम लगानीकर्ता आफैँले लिए पनि सुरक्षालगायत जोखिम बहन गर्न सक्दैन । सुरक्षालगायत जोखिम लगानीकर्ताको नियन्त्रणबाहिर हुन्छ । अतः सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ । यस्तै, राजनीतिक जोखिम पनि लगानीकर्ताले वहन गर्न सक्दैनन् । कुनै राजनीतिक दल वा तिनका कार्यकर्ताले परियोजनामा हडताल गरिदिए भने त्यसको समाधान कसले गर्छ ? राज्यले त्यहाँ समन्वय र सहजीकरण गरिदिनुपर्छ, यसको प्रत्याभूति दिलाउनुपर्छ । 

छुट र सुविधा किन नदिने ? :  विश्वमा यति धेरै देश छन्, सबैले लगानी खोजिरहेका हुन्छन् । लगानीकर्ताका लागि विकल्प धेरै हुन्छन् । यसकारण नेपालले छुट तथा सुविधा दिएर विदेशी लगानी आकर्षित गर्नुपर्छ । लगानीकर्तालाई रेड कार्पेट ओछ्याएर स्वागत गर्न सक्नुपर्छ । हामीसँग हजारौँ मेगावाट विद्युत् उत्पादन गर्ने पानी छ भन्दैमा जलविद्युत् बन्दैन, त्यसका लागि लगानी चाहिन्छ र त्यो लगानी आकर्षित गर्न छुट–सुविधाको व्यवस्था गर्नुपर्छ । नेपाल आकर्षक छ र नेपालीको आतिथ्य संस्कार राम्रो छ भनेर विदेशी पर्यटक नेपाल घुम्न आउँछन् । ‘नेपालमा लगानीको वातावरण राम्रो र छुट सुविधा आकर्षक छन्’ भनेर विदेशी लगानीकर्ता आउने वातावरण किन नबनाउने ? 

प्रतिफलको सुनिश्चितता दिन नसक्नु :  सडक, टनेल, जलाशययुक्त जलविद्युत्लगायत परियोजनामा तुरुन्तै प्रतिफल आउँदैन । यस्ता क्षेत्रमा राज्यले प्रतिफलको सुनिश्चितता दिलाउनुपर्छ । प्रतिफल नआउने ठाउँमा लगानीकर्ताले किन लगानी गर्छ ? गर्दैन नि ! यस्तो स्थितिमा कि उत्पादन वा सेवा धेरै मूल्यमा बिक्री गर्ने वातावरण बनाइदिनुपर्छ कि सरकारले बेहोर्नुपर्छ । 

द्रुतमार्गको उदाहरण दिन्छु । त्यसमा विदेशी कम्पनीले १ खर्बमा बनाउँछु भनेको थियो । उसले प्रतिफलको सुनिश्चितता मागेको थियो । तर, यहाँ राष्ट्रियतालगायतका मुद्दा उचालेर विदेशी कम्पनीलाई परियोजना दिइएन । पछि सेनाबाट निर्माण अघि बढाइयो, जसमा ढिलाइ भयो । लगानी बढेर ३ खर्ब हाराहारी पुग्न थालिसक्यो । क्षणिक नोक्सान वा लाभ नहेरी त्यतिवेला विदेशी कम्पनीलाई नै दिएको भए अहिले त्यत्रो लगानी जोखिम उठाउन पर्ने थिएन । 
त्यसैले विदेशी लगानी आकर्षित गर्न प्रतिफलको सुनिश्चितता, स्रोतको न्यूनता पूर्ति (भयाबिलिटी ग्याप फन्डिङ), हेजिङलगायतको सुविधा दिनुपर्छ ।) 

विकासमा राजनीतिक स्वार्थ हावी :  विकासको मामिलामा फरक राजनीतिक दल, कार्यकर्ता र तिनका सल्लाहकारको मत एक हुनुपर्ने हो । तर, यहाँ स्वार्थ बढी हावी छ । एउटाले गरेको निर्णय अर्कोले उल्ट्याउने, एउटाले दिएको लाइसेन्स अर्कोले खोस्ने र अर्कोलाई दिने गरिन्छ । अनि कसरी लगानी आउँछ ? जबसम्म हाम्रा राजनीतिक दल र तिनका कार्यकर्ता तथा सल्लाहकारहरू स्वार्थभन्दा माथि उठेर आफ्नो मत राख्दैनन्, तबसम्म विकास सम्भव छैन । 

निजी क्षेत्रमा सुधारको खाँचो :  विदेशी लगानी भित्र्याउने/आकर्षित गर्ने मामलामा राजनीतिक दल र कर्मचारीमा सुधार भएर मात्रै पुग्दैन । निजी क्षेत्रमा समेत सुधारको खाँचो छ । उद्योगी व्यवसायीले विदेशबाट आउन लागेको लगानी रोक्ने होइन, सहजीकरण गर्ने काम गर्नुपर्छ । कुनै समय होङ्सी सिमेन्टलाई रोक्ने प्रयास भएको थियो । तर, होङ्सी आएपछि सिमेन्टको मूल्य घट्यो, नयाँ प्रविधि भित्रियो, गुणस्तर पनि बढ्यो । यसर्थ, निजी क्षेत्रले राम्रो विदेशी लगानीलाई साझेदारका रूपमा ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा राम्रा सन्देश प्रवाह गर्न सक्नुपर्छ । दुई रुपैयाँमा सामान ल्याएर ४ रुपैयाँमा बिक्री गरेर रमाउने प्रवृत्ति हटाएर उत्पादन र मूल्य अभिवृद्धिमा लाग्नुपर्छ । 

सुझावित समाचार