थप लोकप्रिय बन्दै इमरान खान

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण
  • इमरान खानमाथि गरिएको दुर्व्यवहारले उनको आकर्षण र लोकप्रियतालाई अझ बढाउने काम मात्र गर्नेछ । पूर्वाग्रहपूर्ण व्यवहारमार्फत पाकिस्तान सरकारले उनको कद घटाउनुको साटो उल्टै बढाइरहेको छ ।

म इमरान खानलाई आफ्नो साथी भन्न त सक्दिनँ, तर मैले उनको धेरैपटक अन्तर्वार्ता लिएको छु । वास्तवमा, मैले उनीसँग विभिन्न ठाउँमा भेटेर कुराकानी गरेको छु, दिल्लीको एउटा होटेलमा, इस्लामाबादनजिकै बानी गालास्थित उनको निवासमा, लाहोरस्थित उनलाई राखिएको अस्पतालमा र लन्डनबाहिर किङस्टनमा रहेको उनको ससुराली घरमा । हरेक भेटमा उनको व्यवहार निकै आकर्षक र मनमोहक थियो । उनको व्यक्तित्वले जोकोहीलाई पनि आकर्षित गर्छ । उनी प्रायः स्पष्ट र सीधा शैलीमा कुरा गर्छन्, तर कहिल्यै पनि अपमानजनक वा असभ्य तरिकाले प्रस्तुत हुँदैनन् । यद्यपि, उनी सधैँ आफ्नो कुरा प्रस्टसँग राख्छन् र त्यसमा कुनै द्विविधा रहन दिँदैनन् ।

उनीसँग रमाइलो खालको ठट्टा गर्ने बानी पनि छ । मैले अन्तिमपटक उनको अन्तर्वार्ता लिँदा उनले सोधेका थिए, ‘के तिमी मलाई खान लागेका हौ ?’ मैले जवाफ दिएँ, ‘पक्कै पनि होइन । किन यस्तो सोध्नुभयो ?’ ‘किनभने, यसअघिका सबैपटक तिमीले त्यस्तै गरेका थियौ ।’ उनी जोडले हाँस्दै भने, ‘अनि, त्यसले तिमीलाई अपच गराउँदैन ?’

त्यसवेला उनी पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ थिएनन् । तर, आज उनी निःसन्देह लोकप्रिय छन् । उनी तीन वर्षभन्दा बढी समयदेखि जेलमा छन् र पाकिस्तानी सरकार उनलाई त्यहीँ राखिरहन दृढ देखिन्छ । उनीमाथि लगाइएका र जसका लागि उनी दोषी ठहरिएका छन्, ती आरोप बनावटी हुन् । उनको वास्तविक समस्या भनेको पाकिस्तानी सेनाप्रमुख आसिम मुनिरसँग उनको सम्बन्ध राम्रो नहुनु हो । इमरान खान प्रधानमन्त्री हुँदा उनले मुनिरलाई ‘इन्टर–सर्भिसेज इन्टेलिजेन्स’ (आइएसआई) को महानिर्देशक पदबाट बर्खास्त गरेका थिए । निःसन्देह, मुनिर अहिले त्यसको बदला लिइरहेका छन् ।

खानले सामना गरिरहेका मुख्य आरोपमा जग्गासम्बन्धी भ्रष्टाचारको ‘अल–कादिर ट्रस्ट’ प्रकरण, राज्यका तर्फबाट प्राप्त महँगा उपहार गैरकानुनी रूपमा आफूसँग राखेको र बिक्री गरेको ‘तोसीखाना’ प्रकरण, तथा गोप्य कूटनीतिक सन्देशको विवरण सार्वजनिक गरेको र मे २०२३ मा पक्राउ परेपछि आफ्ना समर्थकलाई सैन्य तथा सरकारी स्थलमा आक्रमण गर्न उक्साएको ‘साइफर’ प्रकरण समावेश छन् ।

उनी तीन वर्षदेखि जेलको एउटा सानो कोठामा बन्दी जीवन बिताइरहेका छन् । प्रायः उनलाई एकान्त कारावासमा राखिएको छ भने आफन्त र धेरैजसो अवस्थामा चिकित्सकसँग भेटघाट गर्नबाट समेत वञ्चित गरिएको छ । स्वाभाविक रूपमा यसले उनको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । उनका वकिलहरूका अनुसार उनको दाहिने आँखाको दृष्टि ८० प्रतिशतसम्म गुमेको हुन सक्छ । अन्य स्रोतका अनुसार उनी चिन्ता (एन्जाइटी डिसअर्डर) र उच्च रक्तचापको समस्याबाट पनि पीडित छन् ।

गत महिना, पाकिस्तानको सर्वोच्च अदालतले खानलाई स्वास्थ्य परीक्षण र उपचारका लागि दुई दिनभित्र निजी अस्पतालमा सार्न र १६ सेप्टेम्बरसम्म त्यहीँ राख्न आदेश दिएको थियो । अदालतले उनलाई हप्तामा एकपटक परिवारसँग भेट्न र लन्डनमा रहेका आफ्ना छोराहरूसँग सातामा दुईपटक फोनमा कुरा गर्न अनुमति दिएको थियो । त्यसको २४ घण्टापछि सरकारले उक्त आदेशलाई ‘भेदभावपूर्ण’ भन्दै पुनरावलोकन निवेदन दर्ता गरायो । सरकारले खान ‘एक दोषी (कैदी) भएको र अन्य दोषीसरह नै कानुनबमोजिम उनीमाथि व्यवहार गरिनुपर्ने’ दाबी गरेको थियो । त्यसको भोलिपल्ट, सर्वोच्च अदालतको रजिस्ट्रीले उक्त निवेदन अपूर्ण रहेको भन्दै फिर्ता पठायो ।

यसको अर्थ अदालतको आदेश पालना गर्नुबाहेक सरकारसँग अर्को कुनै विकल्प थिएन । तर, सरकारले एकदमै फरक तरिका अपनायो । उसले खानलाई अबेर राति केही घण्टाका लागि सरकारी अस्पताल लग्यो । उनको स्वास्थ्य जाँच हुँदा न त उनका परिवारका सदस्य नै त्यहाँ उपस्थित थिए, न त उनका निजी चिकित्सक नै । बिहानीपख उनी पुनः अडियाला जेल फर्किसकेका थिए ।

यो पक्कै पनि अदालतको अवहेलना हो । अझ महत्वपूर्ण कुरा त के यो खानलाई ‘सखाप पार्न’ सरकार दृढ छ भन्ने थप संकेत हो ? उनका दुई छोरा सुलेमान र कासिमको विश्वास छ कि उचित उपचार नपाएसम्म उनी एकान्त कारावासको बसाइमा जीवित रहन सक्नेछैनन् । के यसैकारणले उनलाई उपचारबाट वञ्चित गरिएको हो ?

इमरान खानमाथि गरिएको दुर्व्यवहारले उनको आकर्षण र लोकप्रियतालाई अझ बढाउने काम मात्र गर्नेछ । पूर्वाग्रहपूर्ण व्यवहारमार्फत पाकिस्तान सरकारले उनको कद घटाउनुको साटो उल्टै बढाइरहेको छ । सन् २०२२ मा सत्ता गुमाउँदाको तुलनामा आज खानलाई हेर्ने दृष्टिकोणमा निकै ठुलो परिवर्तन आएको छ र उनीप्रति सम्मान बढेको छ ।

यदि उनलाई कुनै अनिष्ट आइलाग्यो भने ‘सिजरको प्रेत’झैँ खान सरकारका लागि अझ शक्तिशाली र चुनौतीपूर्ण बन्नेछन् । यदि जीवित खानले मुनिर र देशका प्रधानमन्त्री सहबाज सरिफलाई चिन्तित बनाउँछन् भने मृत खानले उनीहरूलाई पूर्ण रूपमा निष्क्रिय वा असहाय बनाउन सक्छन् । उनको लोकप्रियता र त्यसका परिणामसँग उनीहरू डराएका छन् भन्ने कुरा सायद निर्विवाद छ । त्यसो भए किन उनीहरू आफ्नो अव्यावहारिक वा बुझिनसक्नुको व्यवहारमार्फत त्यसलाई अझ मलजल गरिरहेका छन् ?

मलाई लाग्छ, उनीहरू आफैँ आफ्नो विनाशको कारण तयार पार्दै छन् । यदि उनीहरूले यो अवस्था आफैँ निम्त्याए भने पाकिस्तानका धेरै मानिसहरू (जो आज बोल्न डराइरहेका वा धेरै सतर्क भइरहेका हुन सक्छन्)ले भन्नेछन् कि उनीहरू यसैको हकदार थिए । सैनिक तानासाह र तिनका कठपुतली प्रधानमन्त्रीहरूको नियति यस्तै हुन्छ ।

(हिन्दुस्तान टाइम्समा प्रकाशित लेखक तथा स्तम्भकार थापरको आलेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)
 

सुझावित समाचार