झन्डै डेढ महिनादेखि सिट बाँडफाँडका लागि छलफल गरिरहनुभएको छ । तर, अझै टुंगो लगाउन सक्नुभएको छैन । कहाँ अड्कियो सहमतिको प्रयास ?
आज (सोमबार) पनि हामीले तालमेलबारे व्यापक छलफल गर्यौँ । कुनै वेला दुईपक्षीय, कुनै वेला त्रिपक्षीय र सर्वपक्षीय गरी पाँचै दल एक ठाउँमा बसेर छलफल गर्यौँ । लगभग ७० प्रतिशत सिट टुंगो पनि लागेका छन् । अरू, केही विषय बाँकी छन् । यसबारे भोलि (मंगलबार) थप छलफल गर्छौँ । सम्भवतः भोलि नै बाँडफाँड टुंगिन्छ कि !
७० प्रतिशत टुंगो लाग्यो भन्नुभयो, कहाँ–कहाँ टुंगो लाग्यो त ?
एक सय ६५ सिटको ७० प्रतिशत हिसाब गर्नुस् न, मोटामोटी मिलेको त्यत्ति हो । अरू पनि करिबकरिब मिल्दै छ । एकै सिटमा दोहोरो, तेहेरो दाबी छ । कुनै–कुनै क्षेत्रमा त चार पार्टीको पनि दाबी छ । यी कुरा दुईपक्षीय, त्रिपक्षीय छलफल गरेर टुंगो लगाउँदै छौँ ।
के विषयले वा कुन–कुन क्षेत्रका विवादले सहमति हुन रोकिरहेको छ ?
सहमति रोकिएको भनेको गम्भीरतापूर्वक बसेर छलफल नभएकाले हो, अरू कुनै कारणले होइन, छैन ।
दलहरूभित्र विवाद देखिने डरले अन्तिम समयमा मात्रै टुंगो लगाउने गठबन्धनको रणनीति त होइन ?
सहमतिमा ढिलाइ हुनुमा कुनै रणनीतिक कारण छैन । कतिपय दलहरू बढी सिट चाहन्छन् । ठूला पार्टीहरू सकेसम्म आफूलाई बहुमत सिट चाहन्छन् । साना पार्टीहरू पनि यसमा कम छैनन् । यस्तै, आकांक्षाबीच ‘कमन ग्राउन्ड’ खोज्दाखोज्दै टुंगो लाग्न नसकेको हो ।
२ र ३ असोजमा त समानुपातिकको बन्दसूची पेस गर्नुपर्छ । बाँडफाँड कहिलेसम्म टुंगो लगाउनुहुन्छ ?
हामीले यो महिनाको पहिलो हप्तामै टुंगो लगाउने भनेका थियौँ । तर, हुँदाहुँदै अन्तिम हप्तासम्म आइपुग्यो । अन्तिम हप्तामा चाहिँ जसरी पनि टुंगो लगाउँछौँ ।