१३ वर्षीय बालक बलात्कार आरोपित गैसस मोरङ अध्यक्षलाई निलम्बन गर्न माग

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

छिमेकी १३ वर्षीय बालकलाई यौन शोषण गरेको आरोप लागेपछि गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई निलम्बन गर्न संघसंस्थाहरूले माग गरेका छन्।

तिजको दिन छिमेकी १३ वर्षीय बालकलाई घरमा बोलाएर जबर्जस्ती अप्राकृतिक यौन शोषण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि दुई दर्जन संघसंस्थाले विराटनगर– १२ निवासी ५३ वर्षीय ढकाललाई पदबाट निलम्बन गर्न गैसस महासंघ केन्द्रीय समितिसँग माग गरेका हुन्।

बालबालिका र नागरिक अधिकारको क्षेत्रमा रहेको जिम्मेवार व्यक्तिबाटै गम्भीर अपराध भएकाले तत्काल अध्यक्ष ढकाललाई पदमुक्त गरेर निष्पक्ष अनुसन्धानका लागि सहयोग पुर्‍याउनुपर्ने माग संघसंस्थाहरूको छ। घटनाप्रति संस्थाहरूले दुःख पनि व्यक्त गरेका छन्।

किटानी जाहेरी परेपछि बुधबार पक्राउ परेका ढकालविरुद्ध अप्राकृतिक मैथुन र बाल यौनशोषण आरोपमा बिहीबार अदालतबाट पाँच दिन म्याद थप गराएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। प्रहरीका अनुसार एजुकेसन हेल्पलाइन नामको संस्थाको समेत अध्यक्ष रहेका ढकालले तिजको दिन घरमा कोही नभएको मौका पारेर छिमेकी १३ वर्षीय बालकलाई ललाइफकाई घरमा बोलाएर अप्राकृतिक यौन शोषण गरेका आरोप छ।

सुझावित समाचार