दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउँ फर्किन गाडी कुर्नेहरूको चाप देखिन्छ । तर, १० भदौको भोटेकोशी बाढी, त्यसपछि मनाङ र बुढीगण्डकीमा गएको बाढी तथा राजमार्गहरूमा खसेको पहिरोका कारण यसपालि दसैँमा उपत्यकाबाट गाउँ फर्किनेहरू गत वर्षभन्दा घट्ने अनुमान छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार घटस्थापनादेखि बुधबारसम्म दुई लाख ६८ हजार २७४ जना उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरीले यसपालि दसैँमा १० लाख मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्ष १२ लाख ५० हजार व्यक्ति उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीको तथ्यांक छ ।
घटस्थापनापछि नै धेरै स्कुल–कलेजले बिदा दिएकाले अधिकांश विद्यार्थीले उपत्यका छाडिसकेका छन् । अन्य जागिरे र विभिन्न व्यवसायमा व्यस्त रहेकाहरू पनि अधिकांशजसो फूलपातीसम्म बाहिरिन्छन् । बाँकी रहेकाहरू अष्टमी र नवमीका दिनसम्म पनि उपत्यका छाड्ने क्रम चल्छ ।
भोटेकोशी बाढीले निम्त्याएको क्षति र सडक सञ्जालमा भइरहेको समस्याका कारण कैयौँ मानिसहरू घर नजाने मनस्थितिमा देखिएको र गएकाहरूमा पनि उत्साह नदेखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदी बताउँछन् ।
‘प्राकृतिक विपत्का कारण स्वभाविक रूपमै यसपटक दसैँमा उपत्यका छाड्नेको संख्या कम हुन्छ । बाढीपहिरोका कारण मुख्य राजमार्गहरूमा यात्रा त्यति सहज पनि छैन । तर, यात्रुहरूलाई सहज गराउन ट्राफिक प्रहरी परिचालनमा बढी ध्यान दिएका छौँ,’ उनले भने, ‘गत वर्ष यात्राका लागि सहज अवस्था थियो, बाढीपहिरो थिएन, सडकहरू अवरुद्ध थिएनन् र चहलपहल पनि बढी थियो ।’
भेटेकोशी बाढीमा १४ सय ५८ को शव फेला परेको छ भने ४ हजार ७२० व्यक्ति बेपत्ता छन् । यो मानवीय क्षतिले देशका अधिकांश जिल्लाका हजारौँ परिवार तथा आफन्त पीडामा छन् । उनीहरू दसैँमा गाउँ फर्किने मनस्थितिमा देखिँदैनन् । त्यस्तै, भोटेकोशी बाढी र त्यसपछिका बाढीपहिरोले देशका राजमार्गहरूमा ठाउँ–ठाउँमा क्षति पुर्याएको छ । कतिपय ठाउँमा अझै पनि एकतर्फी मात्रै सवारीसाधन गुड्न सकेका छन् ।
ट्राफिक प्रहरीले घटस्थापना अर्थात् २५ असोजदेखि उपत्यका छाड्नेहरूको रेकर्ड राख्न थालेको छ । तथ्यांकअनुसार २५ असोजमा ५२ हजार ८२७, २६ असोजमा ५६ हजार ८०९, २७ असोजमा ७८ हजार १३८ र बुधबार (२८ असोज) ८० हजार ५०० जनाले उपत्यका छाडेका छन् । निजी, सार्वजनिक तथा मालवाहक गरी २५ असोजदेखि ३२ हजार ५२९ यातायातका सवारीसाधन बाहिरिएका छन् ।
केही दिनअघिको बुढीगण्डकी बाढीका कारण सडक अवरुद्ध भएर सवारीसाधन रोकिँदा अनुमान गरिएभन्दा कम सवारीसाधन बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी सुवेदीका अनुसार हाल दैनिक ३ देखि ४ हजार यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको तथ्यांकअनुसार देशभर डिलक्स, बस, मिनिबस गरी यात्रुवाहक सार्वजनिक सवारीसाधन दुई लाख छन् ।
ठाउँ–ठाउँमा ट्राफिक र नेपाल प्रहरी परिचालन
दसैँमा यात्रा सहज बनाउन र ट्राफिक नियम पालना गराउन देशभर ८ हजारभन्दा बढी ट्राफिक प्रहरी परिचालन भएका छन् । यसबाहेक नेपाल प्रहरीले चालकलाई सजग गराउन उनीहरूको कागजात चेक गर्ने, सवारीसाधनको अवस्था जाँच्ने काम गरिरहेको छ । दसैँको वेला कोचाकोच यात्रु चढाउने, बढी भाडा असुल्ने र यात्रुलाई हैरानी दिनेलाई कारबाही गरिने नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले बताए । उनका अनुसार ट्राफिक नियम मिच्नेलाई प्रहरीले ठाउँ–ठाउँमा कारबाही गरेको छ । दसैँ होस् या अन्य जुनसुकै वेला पनि छतमा यात्रु राख्न नपाइने नियम छ । सिट क्षमताभन्दा बढी यात्रु पनि राख्न पाइँदैन । ट्राफिक प्रहरीले चालकलाई जवाफदेही बनाउन उनीहरूको कागजात, सवारीसाधनको अवस्था जाँच र यातायातमा निगरानी बढाइरहेको काफ्ले बताउँछन् ।
मापसे र लापसे गर्ने चालकमाथि कारबाही
दसैँलक्षित कारबाहीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे गरेर यात्रुवाहक बस चलाएका १९९ चालकलाई कारबाही गरेको छ । ६० यात्रुवाहक बसको यान्त्रिक अवस्था राम्रो नभएपछि जरिवाना तिराएको छ भने लागुपदार्थ सेवन गरेर यात्रुवाहक बस चलाउने नौजनालाई कारबाही गरेको छ । हाल देशभर नै ट्राफिक तथा नेपाल प्रहरी सवारीसाधन चेकजाँच र यात्रा सहज बनाउन खटिएको नेपाल प्रहरीका प्रवक्ता काफ्लेले बताए ।
एक लाख ५० हजार टिकट अग्रिम बुकिङ
घर फर्किनका लागि २३ असोजदेखि बुधबारसम्म १ लाख ५० हजार ५५४ यात्रुहरूले टिकट अग्रिम बुकिङ गरेका छन् । त्यस्तै, कतिपय यात्रुहरू हवाई यात्रा गरिरहेका छन् । हाल अनलाइनबाट पनि टिकट बुकिङ गर्ने सुविधा भएकाले यात्रुले आफ्नो अनकूलअनुसार टिकट बुकिङ गर्ने गरेका छन् । कतिपय यात्रु भने भौतिक रूपमै बसपार्कमा पुगेर टिकट बुकिङ गरेका छन् । केही यात्रु भने टिकट नपाएर बसपार्क तथा उपत्यका बाहिरिने नाकाहरूमा भौँतारिएका भेटिन्छन् ।
यातायात व्यवसायी महासंघका अध्यक्ष सरोजप्रसाद सिटौला भन्छन्– यसपालिको
दसैँ यात्रा सहज छैन
अहिले बाढीपहिरोका कारण सडक सञ्जाल सहज छैन, अत्यन्तै जोखिम छ, दुई–तीन दिनयता राजमार्गमा राम्ररी गाडी चलेका त छन्, तर कति वेला के हुने हो टुंगो छैन । ठाउँ–ठाउँमा पुल भत्किएका छन्, वैकल्पिक सडकहरू प्रयोग गर्नुपरेको छ । विगतमा बस छुट्ने र पुग्ने निश्चित समय हुन्थ्यो, तर अहिले सडकमा कति समय जाममा पर्नुपर्छ ठेगानै हुँदैन । अझ मुख्य सडक बिग्रिएपछि घुमाउरा र साँघुरा सडकहरू प्रयोग गर्नुपरेको छ ।