काठमाडौं/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को सहयोगमा स्थानीय तहसँगको समन्वयमा राहत रकम वितरण गरिएको हो । रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन् ।
तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब एक हजार चार सय घरधुरीलाई पनि तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने सरकारको तयारी छ । २३ असोजमा बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरधुरीको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
रेडक्रसलगायत अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले दोहोरो राहत वितरण रोक्न र कुनै पनि प्रभावित परिवार नछुट्ने व्यवस्था मिलाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बाढी प्रभावितको दीर्घकालीन पुनस्र्थापना र व्यवस्थापनका लागि समेत काम भइरहेको सरकारले जनाएको छ ।