अब सर्वसाधारणको सवारी पनि प्राधिकरणको स्टेसनमा चार्ज गर्न पाइने

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण
अब सर्वसाधारणको सवारी पनि प्राधिकरणको स्टेसनमा चार्ज गर्न पाइने

प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको फास्ट चार्जिङ स्टेसन उद्घाटन गर्दै ऊर्जामन्त्री पम्फा भुसाल

नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालयपरिसरमा रहेको फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । प्राधिकरणले देशभरका ५१ स्थानमा यस्तो चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । मंगलबारदेखि रत्नपार्कको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ भने अन्य चार्जिङ स्टेसन निर्माणकै क्रममा छन् । प्राधिकरणले यसअघि आन्तरिक प्रयोजनका लागि उक्त स्टेसन प्रयोग गरिरहेको थियो ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेर सर्वसाधारणका लागि खुला गरिएको हो । उद्घाटन गर्दैैै उनले आन्तरिक विद्युत् खपत बढाउन चार्जिङ स्टेसनको सञ्चालनले ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताइन् । ‘आन्तरिक रूपमा करिब २२ प्रतिशत विद्युत् खपत बढेको छ, विद्युत्को प्रयोगले पेट्रेलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ, यसले व्यापार घाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ,’ उनले बताइन् । 

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चार्जिङ स्टेसन सञ्चालनमा ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘केही वर्षअघि नेपालमा लोडसेडिङ भएका वेला विद्युतीय गाडीको प्रयोग गर्न सोच्न पनि सकिएको थिएन,’ उनले भने, ‘तर, अहिले लोडसेडिङको अन्त्य मात्रै नभएर विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइसकेका छौँ, यो आफैँमा ठूलो उपलब्धि हो ।’

यस्तै, विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनको महसुल दर पनि सस्तो बनाइएको उनले जानकारी दिए ।  प्राधिकरणले बनाएको उक्त चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डिसी, + ६० किलोवाट डिसी, + २२ किलोवाट एसी रहेको छ । यद्यपि, एक सय २० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडीहरू चार्ज गर्न सकिनेछ । नेपालमा रहेको गाडीको ब्याट्रीको क्षमताअनुसार पूर्ण रूपमा चार्ज हुन आधा घन्टादेखि एक घन्टासम्म लाग्ने अनुमान गरिएको छ । 

स्वचालित स्टेसन, मोबाइल र कार्डबाट भुक्तानी 
प्राधिकरणले सञ्चालनमा ल्याएको स्टेसन पूर्ण रूपमा स्वचालित हुनेछ । प्राधिकरणले यसका लागि नेसनल सर्भिस प्रोभाइडर (एनएसपी) नामक अनलाइन प्रणाली विकास गरेको छ । सवारीधनीले पहिला सोही प्रणालीबाट चार्जिङका लागि समय बुकिङ गर्नुपर्छ । त्यसपछि प्राप्त समयका आधारमा स्टेसनमा गएर गाडी चार्ज गर्न सकिनेछ । त्यसको भुक्तानी भने प्राधिकरणको मोबाइल एप्स अर्थात् कार्डमार्फत गर्न सकिनेछ । 

कस्ता हुनेछन् चार्जिङ स्टेसन 
प्राधिकरणले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । त्यसमध्ये २६ वटा स्टेसनमा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार चार्ज गर्न सकिनेछ । यस्तै, २५ वटा  स्टेसनमा साना–ठूला कारहरू चार्ज गर्न मिल्ने बताइएको छ । 

प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको हुनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिनेछ । चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत–सम्भारका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सुसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँ (करबाहेक)मा ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।  

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मत–सम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

पेट्रोलियम पदार्थभन्दा कति सस्तो ?
पेट्रोलियम पदार्थको प्रचलित मूल्यअनुसार पेट्रोलियम गाडीहरू एक किलोमिटर गुड्न झन्डै २० रुपैयाँ खर्च हुने गर्छ । तर, विद्युतीय गाडी एक किलोमिटर गुड्दा बढीमा एक रुपैयाँ मात्र खर्च हुने देखिएको छ । प्राधिकरणका अनुसार कारमा ७० पैसा, एसयुभीमा ६० पैसा, माइक्रो बसमा ९० पैसा र बसमा एक रुपैयाँबराबरको विद्युत् प्रतिकिलोमिटर खर्च हुनेछ । त्यसअनुसार यातायातको भाडादर कम हुने, पेट्रोलियम पदार्थको आयात कम हुनेलगायतका फाइदा यसबाट हुने प्राधिकरणको भनाइ छ ।

कति लाग्छ शुल्क ?
गाडी चार्ज गर्दाको शुल्क भने समय र सिजनअनुसार फरक–फरक तोकिएको छ । बर्सातमा साँझ पाँचदेखि ११ बजेसम्म प्रतियुुनिट ८.७० रुपैयाँ लाग्नेछ । यस्तै, राति ११ बजेदेखि बिहान पाँच बजेसम्म प्रतियुनिट ५.०५ रुपैयाँ लाग्नेछ । साथै, बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म चार्ज गर्दा प्रतियुनिट ६.९० रुपैयाँ शुल्क लाग्नेछ । हिउँदको समयमा भने साँझ पाँच बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट ८.७० रुपैयाँ लाग्नेछ । अन्य समयमा भने प्रतियुनिट ६ रुपैयाँ ९० पैसा लाग्नेछ ।

सुझावित समाचार