पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गरौँ : लामिछाने

तीन बाहरू केपी बा, देउवा बा र नानीका बा । पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गरौँ, किनकि अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख दलहरूका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंको खुला मञ्चमा आयोजित उपत्यका भेलामा सम्बोधन गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष प्रचण्डलाई अब बिदाई गर्नुपर्ने वेला आएको बताएका हुन् ।

‘ती तीन बाहरू केपी बा, देउवा बा र नानीका बा । पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गरौँ, किनकि अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके,’ उनले भने, ‘अब पछाडि ‘बा’ भएकाहरूलाई ससम्मान बिदा गर्ने वेला भएको छ । मलाई राजनीतिका घिनलाग्दा दाउपेच जान्नुछैन ।’स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रशंसा गर्दै उनले अवैधानिक संरचनामा डोजर चलाउँदा भइरहेको अवरोधबारे पनि बोले । ‘जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेले दुई मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन,’ उनले भने । 

जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेले दुई मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन ।

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलक्षित पार्टी भेलामा लामिछानेले पाँच दल टुक्रा परेको अवस्थामा गठबन्धन गर्नु भनेको जनताप्रतिको ठगी भएको भन्दै विरोध गरे । ‘सानो भएका दलहरू एक्लाएक्लै होइन, मिलेर चुनाव लड्नका लागि आएका छन्,’ उनले भने, ‘हो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्छ । दलहरू मिल्नुपर्छ, गठबन्धन हुनुपर्छ । तर, आमचुनावमा टुक्राटाक्री परेका पाँच–पाँचवटा दल, ६–६ वटा दल मिलेर एक भएर यसरी जनतामा जानु भनेको ठगी हो । यस्तो ठगीलाई नेपाली जनताले अनुमोदन गर्नुहुँदैन । राजनीतिक दल एक्लाएक्लै आउनुपर्छ ।’ 

लामिछानेको पार्टी हालै चुनावलक्षित कार्यक्रमसहित देशदौडाहामा थियो । आउँदो चुनावमा देशैभरबाट प्रदेश सभामा उम्मेदवार नउठाउने, प्रतिनिधिसभाका लागि मात्रै उम्मेदवार उठाउने स्वतन्त्र पार्टीले घोषणा गरिसकेको छ । लामिछानेले भने अहिलेसम्म कहाँबाट चुनाव लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । समानुपातिक मतबाट सांसद निर्वाचित गर्न सकिने उसको रणनीति छ ।

सुझावित समाचार