३६ मैदा मिललाई १० लाख टन गहुँ आवश्यक

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

नेपालमा सञ्चालित ३६ मैदा मिललाई यस वर्ष करिब १० लाख टन गहुँ आवश्यक रहेको नेपाल मैदा उद्योग संघले जनाएको छ । मैदा मिलले खपत गर्ने गहुँमध्ये साढे तीन लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने साढे ६ लाख टन गहुँ भारतबाट आयात गर्नुपर्ने संघका अध्यक्ष कुमुद दुगडले बताए ।

संघको प्रतिनिधिमण्डलले उद्योग तथा वाणिज्य मन्त्रालयका सचिवलाई भेटेर घरेलु उत्पादनले मात्र माग धान्न नसक्ने जानकारी गराउँदै भारतबाट गहुँ आयातलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । संघका अध्यक्ष दुगडले ३० वैशाख ०७९ देखि भारत सरकारले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएका कारण देशका मैदा उद्योगहरूले भोग्नुपरेको समस्या अवगत गराए । 

छलफलमा सचिवले स्वदेशी उद्योग संरक्षण गर्न सरकारको तर्फबाट गहुँ आयातको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराए । सरकारले गरेको प्रक्रिया हेर्दा १५ देखि २० दिनमा नेपालमा गहुँ आउने अवस्था देखिएकाले स्वदेशी मैदा उद्योगहरू निरन्तर सञ्चालन हुने संघले विश्वास लिएको छ । 
 

सुझावित समाचार