राष्ट्रपति भएयता बाइडेनले कार चलाउन पाएका छैनन्, सुरक्षाका कारण अमेरिकी राष्ट्रपति ड्राइभरसहित सरकारी गाडीमा सवार हुन्छन्
अमेरिकी राष्ट्रपति जो बाइडेन राम्रो ड्राइभर पनि हुन् । ६ अगस्ट २०२० मा आफ्नो चुनावी अभियानका दौरान ट्विटरमा सार्वजनिक गरेको भिडियोमा उनी ‘१९६७ चेर्भोलेट कोर्भिटी स्टिन्ग्रे’ चलाइरहेको देखिन्थे । उनले आफ्नो कारको वर्णनसँगै अमेरिकाको अटोमोबाइल उद्योगको भविष्यबारे पनि बोलेका थिए ।
३ सय २२ किलोमिटर प्रतिघन्टाको रफ्तारमा चल्न सक्ने कोर्भिटी कार निर्माणको प्रक्रिया पाइपलाइनमा रहेको पनि उनले बताएका थिए । ‘मलाई ड्राइभ गर्न मन पर्छ, मलाई लाग्छ म निकै राम्रो ड्राइभर थिएँ,’ ७९ वर्षीय बाइडेनले भनेका छन् ।
राष्ट्रपति निर्वाचिन भएयता भने उनलाई कार चलाउने अनुमति छैन, सुरक्षाका कारण देखाएर गुप्तचर निकायले राष्ट्रपतिलाई यस्तो रोक लगाएका हुन् । २००९ देखि २०१७ सम्म उपराष्ट्रपति छँदा पनि उनले ड्राइभ गर्न पाएका थिएनन्, त्यतिवेला आफूलाई उकुसमुकुस भएको उनले एक अन्तर्वार्ताका दौरान बताएका छन् ।
बाबुले उपहारमा दिएको ‘कोर्भिटी स्टिन्ग्रे’
बाइडेनका बाबुले कुनै समय डेलावरमा गाडीको डिलर सञ्चालन गर्थे । त्यसैले सानै उमेरदेखि बाइडेन कारप्रति आकर्षित भए । १९६६ बाइडेनले विवाह गरेका थिए, अर्को वर्ष उनलाई बाबुले ‘कोर्भिटी स्टिन्ग्रे’ कार उपहारमा दिए । यो आइकोनिक कार बाइडेनसँग अझै सुरक्षित छ, क्रिसमसको उपहारका क्रममा केही वर्षअघि उनका छोराछोरीले यो कारको इन्जिन बनाइदिएका थिए । बाइडेन भन्छन्,‘मलाई स्पिड मन पर्छ । युवा छँदा म तीव्र गतिमा कार हाँक्थेँ ।’
आफूले चलाएका कारहरू बाइडेनले संग्रहित गरेर राख्ने गरेका छन् । उनीसँग चेर्भोलेट कोर्भिटी ग्रान्ड स्पोर्टस्, जिप ब्राङग्लर, जिएमसी युकोन डेनाली, मर्सिडिज बेन्ज १९० एसएल, १९५१ स्टुड बेकर आदि कारको कलेक्सन रहेको अटोबिज डट इनमा प्रकाशित आलेखमा उल्लेख छ ।
राष्ट्रपतिको हैसियतमा ‘द बिस्ट’

राष्ट्रपतिको हैसियतमा अहिले बाइडेनले सरकारी ‘द बिस्ट’ कार चढ्छन् । यो कार डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा बनाउन लगाएका थिए । विश्वका सुरक्षित कारमध्ये यो एक हो । यसका धेरै विशेषता छन् ।
कारको झ्यालमा पाँच लेयरका बुलेटप्रुफ ग्लाससहित पोलिकार्बोनेट छ । यो गाडीमा उच्चस्तरीय सैन्य ग्रेड टायरहरू जडान गरिएको छ । यद्यपि, टायर पन्चर भएको अवस्थामा समेत कार तीव्र गतिमै कुद्न सक्छ । ढोकाहरू विस्फोटको प्रतिरोध गर्न सक्ने गरी बनाइएका छन् । राष्ट्रपति सिटमा सेटेलाइट फोन पनि जडान गरिएको छ, जहाँबाट राष्ट्रपतिले सीधै उपराष्ट्रपति र रक्षा मन्त्रालयमा फोन गर्न सक्छन् । जिपिएस सिस्टम, ट्र्याकिङ सिस्टम र कम्युनिकेसन सेन्टर पनि कारमा छ । त्यसैगरी, गोप्य क्यामेरा र नाइट–भिजन पनि जडान गरिएको छ । साढे पाँच मिटर लामो यो गाडीमा अक्सिजन ट्यांक र ब्लड सप्लाई गर्ने उपकरण जडान गरिएको छ ।
सुरक्षाका कारण राष्ट्रपति आफैँले यो कार भने कुदाउन पाउँदैनन् । अमेरिकी गुप्तचर निकायबाट उच्च तालिमप्राप्त ड्राइभरले नै राष्ट्रपतिको कार कुदाउँछन् । ड्राइभरसँग प्रतिरोध गर्न सक्ने, भाग्न सक्ने र १ सय ८० डिग्रीको ‘जे टर्न’ समेत लिन सक्ने खुबी हुनुपर्छ । यो कारको मूल्य झन्डै १ दशमव ५ मिलियन अमेरिकी डलर पर्न सक्ने अनुमान छ ।