नेपालका लागि टिभिएस टू ह्विलरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले स्याङ्जाको बदखोलामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले टिभिएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टस् सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ सोरुम सञ्चालनमा ल्याइएको हो ।
सोरुमको उद्घाटन गर्दै बतास इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैँ प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटो–छरितो रूपमा सेवा दिन नयाँ सुविधा थपिएको उनको भनाइ थियो ।
कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेल, स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेशलाललगायतको उपस्थिति रहेको जनाइएको छ । कम्पनीले देशभरमा एक सय ३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ बजारमा बलियो पकड कायम राख्न र आफ्ना ग्राहकलाई सन्तुष्ट तुल्याउन सफल भएको दाबी गरेको छ ।