बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड बियोन्ड’ सम्मेलनको आयोजना गर्ने भएको छ । कम्पनीले साउन २९ गते काठमाडौंमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुति एवं मन्तव्यहरूसहितको सम्मेलन गर्ने भएको हो ।
सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब एक सय ५० जना सहभागीले आफ्नो सहभागिताको सुनिश्चित भइसकेको आयोजकले जनाएका छन् । कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलबाट गरी सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको कम्पनीले जनाएको छ । यसै सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।
कार्यक्रममा बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमान, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भटनागरले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।