ल्यान्डफिल साइटमा भएका उपकरण र फोहोर बोकेका गाडी तोडफोड

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको काठमाडौं महानगरको आरोप

धदिङको धुनीबेँसीस्थित बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन प्रयोग गरिँदै आएका सवारीसाधन र उपकरण तोडफोड भएको छ । काठमाडौं महानगरपालिकाका दुईवटा डोजर, एउटा एक्साभेटर र काठमाडौंबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ गरेर राखिएका ट्रकहरूमा तोडफोड भएको हो । 

महानगरअन्तर्गत वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार सोमबार राति ९ बजे तोडफोडका घटना भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ‘हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता यकिन हुन्छ,’ उनले भनिन्, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।’ 

तोडफोड गरिएका सवारी तथा उपकरणमध्ये क्यापिङ गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ । घटनाबारे काठमाडौं महानगर प्रमुखको सचिवालय सदस्य इन्जिनियर सुनील लम्साल भन्छन्, ‘महानगरमा बालेन्द्र साह प्रमुखका रूपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ । सुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यहीअनुसार काम गर्‍यौँ । यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गयौँ । महानगरबाट बजेटको व्यवस्था गर्‍यौँ । यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ ।’ 

लम्सालले केही स्थानीयले आफ्ना स्वार्थ पूरा गर्न फोहोर व्यवस्थापनमा अवरोध गर्नुलाई हतियार बनाइएको दाबी गरे । ‘सोमबार रातिको तोडफोड यसैको शृंखला हो । ‘समयक्रममा सबै कुरा बाहिर आउँछन् । आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुंगा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ सेन्टर आफूअनुकूल सञ्चालन गराउन चाहन्छन्,’ लम्सालले भने, ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरूको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो व्यक्तिगत लाभ सोच्नेहरूका लागि पचेको छैन ।’ 

काठमाडौंको फोहोर फेरि नउठ्ने 
सोमबार तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि मंगलबार बन्चरे डाँडासम्म फोहोर लैजान सकिएको छैन । सुरक्षाको ग्यारेन्टी नभएसम्म काठमाडौंको फोहोर नउठ्ने महानगरपालिकाले जनाएको छ । ‘सोमबार तोडफोड गरिएका सवारी र उपकरण काम नलाग्ने भएका छन् । त्यसैले सुरक्षाको ग्यारेन्टी नभएसम्म हामी फोहोर लैजान सक्दैनौँ,’ महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठले भने । 

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह भन्छन् : फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो
फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँनयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसैक्रममा सोमबार राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ ।

फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ । कानुनी रूपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाटै यसको भर्पाई तथा क्षतिपूर्ति गराउनुपर्छ ।

यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ । केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा १८ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

सुझावित समाचार