सालका ६७ रूख काटेको आरोपमा सामुदायिक वनका सात पदाधिकारी पक्राउ

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण
सालका ६७ रूख काटेको आरोपमा सामुदायिक वनका सात पदाधिकारी पक्राउ

फाइल फाेटाे

मकवानपुरको हेटाैँडास्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध रूपमा ६७ वटा सालका रूख काटेको आरोपमा सातजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरू चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनका पदाधिकारी रहेको राससले जनाएको छ । रूख कटानी भएको विशेष जानकारी पाएपछि गएको पर्सा वन्यजन्तु आरक्षको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

हेटाैँडा उपमहानगरपालिका– १४ ड्राइभरडाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोप उनीहरूमाथि छ । सो वडाको निमार्णाधीन भ्युटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिए । 
पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको राेहवरमा छाडिएको छ । अनुसन्धान भइरहेको भन्दै आरक्षले पक्राउ परेकाहरूको परिचय खुलाउन मानेको छैन ।

सुझावित समाचार