स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा बाटोमै जन्मियो शिशु

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

प्रसूति हुन स्वास्थ्य कार्यालय पुगेकी महिला कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा घर फर्किँदै थिइन् । घर फर्कँदै गर्दा  बाटोमै बच्चा जन्मियो । सिनियर अहेव विर्ज विक गोष्ठीमा गएका थिए । स्वास्थ्य कार्यालयमा कुनै पनि स्वास्थ्यकर्मी थिएनन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एकजना महिला स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी  छिन्। फयालगाउँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा प्रसूति गराउने स्वास्थ्यकर्मी नहुँदा वडा नं- १ मुक्तिकोटकी कार्तिके विकले बाटोमै बच्चा जन्माएकी हुन्। 

सुत्केरी बेथाले च्यापेपछि उनी स्वास्थ्य कार्यालय पुगेकी थिइन् । तर, स्वास्थ्य कार्यालयमा कुनै पनि स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा गएका थिए ।

प्रसूति हुन स्वास्थ्य कार्यालय पुगेकी विक कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा घर फर्किँदै थिइन् । घर फर्कँदै गर्दा उनलाई सुत्केरी बेथाले च्यापेको थियो । बेथाले च्यापेपछि उनी बाध्य भएर बाटोमै बच्चा जन्माउन विवश भइन् । 

गाउँपालिकाबाट नियुक्त भएका करारका स्वास्थ्यकर्मीको पनि नयाँ आर्थिक वर्षदेखि करार अवधि थपिएन । जसले गर्दा स्वास्थ्य कार्यालयमा करारका स्वास्थ्यकर्मी पनि छैनन् ।  बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको  परिवारले जनाएको छ । 

सुझावित समाचार