घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दिनमा नै कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र बुढा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुवाङले सेवाग्राहीबाट ३० हजार घुस लिइरहेको अवस्थामा अधिकृत बुढालाई पक्राउ गरिएको जानकारी दिए । 

घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका बुढालाई सोमबार थप कारबाहीका लागि काठमाडाैँ पठाइने अख्तियार प्रमुख कुरुवाङले बताए । ‘हाम्रो झन्डै एक वर्षभन्दा बढी समयपछि स्ट्रिङ अप्रेसन भएको छ,’ उनले भने, ‘पहिले सेवाग्राहीलाई अख्तियारले नै पैसा दिन्थ्यो, अहिले त्यस्तो छैन, स्वयं सेवाग्राहीले दिन लागेको अवस्थामा सूचना पाएर पक्राउ गरेका छौँ ।’ 

झन्डै १३ महिना घुससहित कुनै पनि कर्मचारीलाई पक्राउ नगरेको अख्तियार चालू वर्षको सुरुवातसँगै तातेको छ । अख्तियारले यसरी नै भ्रष्टमाथि डन्डा चलाए मात्र सुदूरपश्चिममा भ्रष्टाचार रोकिने नागरिक समाजको सुझाब छ । 

अख्तियारले पछिल्लो १६ महिनामा घुस रकमसहित एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो । ५ चैत्र ०७७ सालमा अख्तियारले मालपोत कार्यालय कञ्चनपुरका अधिकृत लोकराज जोशीलाई २४ हजार नगदसहित पक्राउ गरेको थियो । 
 

सुझावित समाचार