संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरूसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने आफ्नो योजना रहेको उनले बताए । पर्यटन क्षेत्रको पुनरुत्थापनका लागि तत्काल गर्न सकिने काम र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने बताए ।
‘कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौँ । ऐन नियम बनाउने काम केही समय लाग्छ । ऐन–कानुनको कामको पनि सुरुवात गरौँ भनेर सोचेको छौँ,’ उनले भने, ‘म लामो समय बस्ने मन्त्री होइन । तर, सुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निष्कर्ष निस्कन्छ ।’