नक्कली दस्तखतको प्रयोग गरी अर्कैको खाताबाट दश लाख निकाल्ने एक पक्राउ

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१, त्रिपुरेश्वरस्थित प्युठानका प्रकाशराज भण्डारीले सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंक लिमिटेडको खाताबाट पैसा निकालेको कसुरमा प्रहरीले मकवानपुरका वासुदेव अर्याललाई पक्राउ गरेको हो । 

असम्बन्धित व्यक्तिले पैसा निकालिरहेको भन्ने सूचनाका आधारमा प्रहरी बृत्त कालिमाटीबाट पीडितसमेतको सहयोग, स्रोतसाधन तथा प्रविधिको प्रयोग गरी घटनाको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्ने क्रममा ३१ असारमा अर्याललाई कलंकीस्थित नेपाल एसबिआई बैंक बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अभियुक्तले प्रकाशराज भण्डारीको दस्तखतसहितको चेक फेला पारी पीडितको नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएको र सोही प्रयोग गरी बैँकबाट चेकबुक हराएको भनी थप चेकबुक निकालेको अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्तले सौरभ डंगोलको सवारीचालक अनुमतिपत्र फेला पारी सोही नाम र सोही सवारीचालक अनुमतिपत्रको प्रयोग गरी रकम निकाल्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अर्यालले हालसम्म दश लाख ३५ हजार रकम निकालेको भेटिएको छ।

अर्यालसँग तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय–पत्रसमेत रहेको भेटिएको छ । पक्राउ परेका अर्याललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार  ‘ठगीसम्बन्धी कसुर’  तथा  ‘लिखतसम्बन्धी कसुर’अन्तर्गत काठमाडाैँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
   
अर्यालले अन्य व्यक्ति र संस्थासमेतलाई ठगी गरेको हुन सक्ने भएकोले पीडितलाई प्रहरी बृत्त कालिमाटीमा जाहेरी दिनसमेत प्रहरीले अनुरोध गरेको छ । 

सुझावित समाचार