गठबन्धनको विकल्पबारे पनि कुरा उठेको छ : सहमहामन्त्री पाण्डे

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण
गठबन्धनको विकल्पबारे पनि कुरा उठेको छ : सहमहामन्त्री पाण्डे

फाइल तस्बिर

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा ‘प्लान बी’मा पनि प्रवेश गर्नुपर्ने माग राखेको उनको भनाइ छ ।  

सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरूले दिने र सबैले जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । उनले आगामी दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरूले धारणा राखेको बताए । 

‘आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरू छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरू गर्नुभएको छ । भ्रातृ संस्था र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने कुरा छ । गठबन्धन तोड्नुहुँदैन, तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ ।’

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । 

सुझावित समाचार