अब अन्य जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन सकिने

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । अब नेपाली नागरिकले आफ्नो स्थायी जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। नेपाल सरकारको १००बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी, पानीले भिजेर नष्ट भएको, च्यातिएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले नागरिकताको प्रतिलिपि लिनुपर्ने नागरिकका लागि उक्त व्यवस्था लागू गरिएको जनाएको छ।

गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा प्रवाह गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी तोकिएको छ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं वा अन्तर्गतबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा प्रदान गरिनेछ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुर वा अन्तर्गतबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई सेवा दिइनेछ भने जिल्ला प्रशासन कार्यालय भक्तपुर वा अन्तर्गतबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका सेवाग्राहीको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग हुबहु मिलेमा नागरिकताको प्रतिलिपि जारी गरिनेछ।

तर, प्रणालीमा अभिलेख नभेटिएमा, विवरण नमिलेमा वा साबिकको नागरिकतामा उल्लेख भएको नाम, थर, जन्ममिति तथा अन्य विवरण संशोधन गरी प्रतिलिपि लिन खोजेमा सम्बन्धित व्यक्तिले नागरिकता प्राप्त गरेको साबिककै जिल्लामा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी, पहिलो दृष्टिमै नागरिकता शंकास्पद देखिएका निवेदकलाई पनि साबिककै जिल्लाबाट प्रतिलिपि लिन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाले नागरिकता प्रतिलिपि वितरण प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।


 

सुझावित समाचार