राष्ट्रिय भेलाको तयारीमा एमाले : तीन हजार १६४ प्रतिनिधि सहभागी हुँदै

बुधबार, ११ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एमालेले आगामी २ र ३ मंसिरमा आयोजना गर्न लागेको तयारी तीव्र पारेको छ । सरकारविरुद्ध सडकमा जनमत प्रदर्शन र आगामी स्थानीय तह र प्रदेश संसद्को निर्वाचनको तयारीका लागि नेता–कार्यकर्तालाई प्रशिक्षित गर्दै परिचालन गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला गर्न लागेको हो ।

८ असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकले भेला आयोजना गर्ने निर्णय गर्दै तयारी समिति बनाएको थियो । राष्ट्रिय भेलाको तयारीकै क्रममा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा तयारी बैठक सम्पन्न भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले व्यवस्थापकीय तयारीमा केन्द्रित रहेर छलफल भएको छ ।

बैठकमा उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टीपंक्तिमा एउटै बुझाइ र लय विकास गर्नु नै राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए । केन्द्रीय कमिटीको तेस्रो बैठकले सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उनले केन्द्रीय कमिटीको तेस्रो बैठकको निर्णयको आलोकमा पार्टीपंक्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटाउन पनि राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै पौडेलले ०८२ को निर्वाचनको परिणाम क्षणिक र अस्थायी धक्का भएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्दै एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्नेमा जोड दिए । राष्ट्रिय भेलामार्फत पार्टीपंक्तिलाई उत्साहित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने पनि उनले प्रस्ट्याए । ‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ उनले भने ।

त्यस्तै, महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे । भेलाको सन्देश पार्टीपंक्ति र जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उनले आग्रह गरे । सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामका सन्दर्भमा ब्रिफिङ गरेका थिए । राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार १६४ जनाको सहभागिता रहने उनले बताए । उनका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् । त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ ।

पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एकजनाका दरले एक हजार ५०६ जना सहभागी हुनेछन् । त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५, प्रदेश सभा सदस्य १५५, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन् । त्यस्तै, जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।

नक्कली भगवान् जन्मिएर हैरान भो : ओली 
nullएमाले अध्यक्ष केपी ओलीले ‘नक्कली भगवान् जन्मिएर हैरान पारेको’ बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा मंगलबार उनले त्यस्तो टिप्पणी गरेका हुन् । पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको टिप्पणी ओलीको छ ।

धार्मिक प्रसंग ल्याएर वर्तमान राजनीति र समाजमा भइरहेको विकृत्तिमाथि ओलीले व्यंग्य कसे । ‘२२–२३ सय वर्षअगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवान्हरू छ्यापछ्याप्ती जन्मिँदा–जन्मिँदा ३३ कोटी जन्मिए, धन्न पार्वतीले श्राप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू,’ ओलीले अहिलेको राजनीतिप्रति व्यंग्य गर्दै सविस्तार थपे, ‘अब देवता, बढी देवता जन्मिँदैनन् । तर, पार्वतीले श्राप दिएपछि फेरि भगवान्हरू, नक्कली भगवान् जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’

सुझावित समाचार