कहाँ रोकियो आनीकाे नागरिकता र सम्पत्ति शुद्धीकरणको विवाद ?

आनीले आफ्ना आमा–बुवा तिब्बती भएको आफ्नो पुस्तक ‘फूलको आँखामा’मा उल्लेख गरेकी छिन्

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण


गायिका आनी छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा गम्भीर उजुरीहरू पनि अनुसन्धानबाट टुंगिएका छैनन् । उनले १८ जेठ ०४६ मा कान्छाबहादुर लामालाई आफ्नो बुवा मानेर वंशजको नागरिकता लिएकी थिइन् ।

छोइङ डोल्मा लामा मोक्तानको नाममा नागरिक लिँदा नक्कली बुवा खडा गरिएको आरोप छ । तत्कालीन चपली भद्रकाली– ६ स्थायी ठेगाना देखाएर उनले नागरिकता लिएकी थिइन् । आनीले आफ्ना आमा–बुवा तिब्बती भएको आफ्नो पुस्तक ‘फूलको आँखामा’मा उल्लेख गरेकी छिन् ।

सो आधारमा उनले कसरी वंशजको नेपाली नागरिकता पाइन् भन्ने प्रश्न छ । यस विषयमा ०७६ मै प्रहरीमा उजुरी परे पनि विस्तृत अनुसन्धान भएको छैन । प्रहरीले त्यसवेला उनको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग मागेको थियो ।

तर, अनुसन्धान पूरा नभएको प्रहरी स्रोत बताउँछ । ‘विवरण माग भएलगत्तै यसमा थप अनुसन्धान नगर्नु भन्ने आदेश आएको थियो,’ काठमाडौं परिसरका तत्कालीन एक अधिकारीले बताए । त्यसबेला सोधपुछको क्रममा कान्छाबहादुरका आफन्तले आनी उनको छोरी नभएको बताएका थिए ।

व्यक्तिगत खातामा स्रोत नखुलेको १६ लाख डलर

त्यस्तै, उनको बैंक खातामा आएको शंकास्पद १६ लाख अमेरिकी डलरबारे पनि छानबिन भएको थियो । जुन रकमलाई राष्ट्र बैंकले नै शंकास्पद मानेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न पत्राचार गरेको थियो ।

उक्त छानबिन पनि दबाबको भरमा रोकेर खाता फुकुवा गरियो । जुन विषयमा अहिले पनि अनुसन्धान हुन सक्ने विभागका अधिकारी बताउँछन् । आनीको मेगा बैंक(हाल इन्भेष्टमेन्ट मेगा)मा रहेको खाता नम्बर ००१००५००३९४२४ मा ०७५ को असार २६, २७ र २८ गते हङकङबाट स्रोत नखुलेको डलर आएको थियो ।

२६ असारमा पाँच लाख ७९ हजार ९८०, २७ असारमा पाँच लाख ३९ हजार ९८० र २८ असारमा पाँच लाख २९ हजार ९८० अमेरिकन डलर आएको थियो । सो डलर शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार भएको थियो ।

अनुसन्धान चलिरहेकै वेला रकमको चित्तबुझ्दो स्रोत देखाउन नसके पनि उच्चस्तरबाट आएको दबाबपछि अनुसन्धान तामेलीमा राखिएको विभागका तत्कालीन एक अधिकारी बताउँछन् । विगतमा पनि उनले त्यसरी धेरैपटक स्रोत नखुलेको सम्पत्ति ल्याएको विभागको छानबिनमा खुलेको थियो ।

आनीले भने सामाजिक कामका लागि आफूलाई विदेशबाट सहयोग आएको बताएकी छिन् । तर, समाज कल्याण परिषद्को अनुमतिमा मात्र यसरी सहयोग ल्याउन पाइने भए पनि उनले व्यक्तिगत खातामार्फत यस्तो पैसा ल्याउने गरेकाले त्यसलाई राष्ट्र बैंकले शंकास्पद भनेको थियो । यिनै विषयमा अहिले छानबिनको माग भएको हो । आनीले भने यी विषय छानबिनबाट टुंगिसकेको बताएकी छिन् तर आफ्नो नागरिकता र कारोबारको पारदर्शीताबारे प्रमाण दिन सकेकी छैनन् ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनीलाई नियुक्ति गरिएपछि उनको नियुक्ति खारेजको माग गर्दै लुम्बिनी बचाऊ महाअभियानले लुम्बिनीमा निरन्तर आन्दोलन गर्दै आएको छ । दबाबमा परेको सरकारले महाअभियानका संयोजक अक्रम खानसहित दुईजनालाई मध्यरातमा पक्राउ गरेको गरेको थियो । यता, राष्ट्रिय जेन–जी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास बचाऊ संयुक्त समितिलगायतले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रश्न उठाएको छ ।

सुझावित समाचार