चोरी आरोपको बदला लिन छिमेकीबाट ब्याट्री व्यवसायीको हत्या

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगर । चोरीको आरोप लगाएको रिसमा विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको खुलेको छ । 

हत्या गर्नुअघि आफ्नै घरमा खाना खान बोलाएका छिमेकी विराटनगर महानगरपालिका– ६ का ३७ वर्षीय अब्जर मियाँले सोही ठाउँको महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका ६० वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको खुलेको हो। हत्यापछि उनले गुप्ताको शव बोरामा हालेर मोरङ र सुनसरीको सिमानामा पर्ने केसलिया खोलामा सुनसरीको बर्जुगाउँपालिकातर्फ फ्याँकिदिएका थिए ।  

गुप्ताको हत्या आरोपमा मोरङ र सुनसरीको संयुक्त टोलीले मंगलबार साँझ  विराटनगर महानगरपालिका– ६ का ३७ वर्षीय अब्जर मियाँलाई पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार प्रारम्भिक अनुसन्धानमा मियाँले चोरीको आरोपकै कारण गुप्ताको हत्या गरेको बयान दिएका छन् । 

प्रहरीका अनुसार भारतको उत्तर प्रदेशको बनारस घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्री पसल सञ्चालन गर्दै आएका थिए । गुप्ताले आफ्नो पसलको सामान चोरी गरेको आरोप छिमेकी मियाँमाथि लगाउँदै आएका थिए ।

यही विषयलाई लिएर मियाँले गुप्ताको हत्या गर्ने योजना बनाएका थिए । मौका पर्खेर बसेका मियाँले दसहराको अवसर पारेर शत्रुता मेटाउन हार्दिकता बढाउने भन्दै  ६ कात्तिक साँझ गुप्तालाई पाहुना खान बोलाएका थिए ।

त्यहाँ दुवैले मदिरा सेवन गरेपछि मियाँले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेको र त्यसपछि रडले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अनुसन्धान अधिकृतहरूले बताएका छन्। घरमा हत्या गरिएका गुप्ताको सिटी सफारी प्रयोग गरेर शव बोरामा हालेर सुनसरीको बर्जु गाउँपालिका– २, भीमपुरस्थित केसलिया खोलामा  फालिदिएका थिए । गुप्ताको शव आइतबार बिहान फेला परेको थियो ।  
 

सुझावित समाचार