लिउको भ्रमणपछि नेपालका राजनीतिक दल, बुद्धिजीवी र विभिन्न पक्षको धारणा बुझेर उनी बेइजिङ जानेछिन्
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओसँगै नेपाल भ्रमणमा आएकी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य चेङ योउया केही दिन नेपाल बस्ने भएकी छन् ।
उनी विदेश विभागअन्तर्गत नेपाल मामिला कार्यालयमा कार्यरत छिन् । कूटनीतिक स्रोतका अनुसार लिउको नेपाल भ्रमणका लागि उनले समन्वय गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा अध्ययन गरेकी उनले लिउ तथा नेपाली शीर्ष नेताहरूको संवादको अनुवाद गरेकी थिइन् । उनी नेपाली भाषामा दख्खल राख्छिन् । उनी पाँच वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टी हेडक्वार्टरमा माथिल्लो ओहोदामा कार्यरत छिन् ।
‘चेङले नेपाली नाम सरला राखेकी छन् । उनकै समन्वयमा लिउको नेपाल भ्रमण भएको हो,’ एक चिनियाँ कूटनीतिक स्रोतले भन्यो, ‘चेङ अर्को सातासम्म नेपालमै रहनेछिन् ।’ उनीसँग सम्पर्कमा रहेका एक नेपाली नेताका अनुसार लिउको भ्रमणपछि नेपालका राजनीतिक दल, बुद्धिजीवी र विभिन्न पक्षको धारणा बुझेर उनी बेइजिङ जानेछिन् ।
फर्किए लिउ
नेपालको चारदिने भ्रमण पूरा गरी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओ बुधबार बेइजिङ फर्किएका छन् । भ्रमणको चौथो दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।
लिउले आइतबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का, सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा मंगलबार एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बेग्लाबेग्लै कुराकानी गरेका थिए ।
उनले सबैभन्दा बढी समय (साढे चार घन्टा) ओलीसँग बिताएका थिए भने त्यसपछि क्रमशः प्रचण्ड (दुई घन्टा), एकीकृत समाजवादी अध्यक्ष नेपाल(सवा एक घन्टा)सँग समय बिताएका थिए । उनले प्रधानमन्त्री देउवासँग करिब एक घन्टा र परराष्ट्रमन्त्री खड्कासँग ४५ मिनेट बिताएका थिए ।