कोभिडले घटायो मान्छेको आयु
१ असारमा ०.६४ प्रतिशत रहेको कोभिडको दैनिक संक्रमणदर बढेर पाँच प्रतिशतभन्दा माथि पुगेको छ । सोमबार ५.५६ प्रतिशत रहेको संक्रमणदर मंगलबार बढेर ५.६६ प्रतिशत पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल तीन हजार एक सय २६ नमुना परीक्षण भएकोमा एक सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार तीन हजार २० नमुना परीक्षण गर्दा एक सय ६८ मा पजिटिभ रिपोर्ट आएको थियो । आइतबार भने तीन हजार ४५ नमुना परीक्षणमा एक सय २१ अर्थात् ३.९७ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । शनिबारयता दैनिक संक्रमितको संख्या सयभन्दा माथि छ ।
डा. सन्तोष दुलाल, जीवाणुविज्ञ
जुलाईको दोस्रो साता दैनिक संक्रमण दुईजनामा झरेको थियो । तर, अहिले परीक्षणको पाँच प्रतिशत नाघेको छ । यसले कोरोनाको अर्को लहरको जोखिम बढाएको छ । प्रत्येक तीन महिनामा कोभिडविरुद्धको खोप लगाउन सम्भव छैन । यसका लागि हाम्रो जीवनशैलीमा नै परिवर्तन ल्याउनुपर्ने देखिएको छ ।
दैनिक संक्रमणदर बढेसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको छ । हाल अस्पतालमा उपचार गराइरहेका २० संक्रमितमध्ये ११ आइसियूमा र एक भेन्टिलेटरमा छन् । जीवाणुविज्ञ डा. सन्तोष दुलाल कोरोनाको अर्को लहरको जोखिम बढेको बताउँछन् । ‘जुलाईको दोस्रो साता दैनिक संक्रमण दुईजनामा झरेको थियो । तर, अहिले परीक्षणको पाँच प्रतिशत नाघेको छ । यसले कोरोनाको अर्को लहरको जोखिम बढाएको छ,’ उनले भने, ‘प्रत्येक तीन महिनामा कोभिडविरुद्धको खोप लगाउन सम्भव छैन । यसका लागि हाम्रो जीवनशैलीमा नै परिवर्तन ल्याउनुपर्ने देखिएको छ ।’
गत फेब्रुअरीको अन्तिम सातादेखि विश्वभर फैलिइरहेको ओमिक्रोनको सबभेरियन्ट बिए फोर र बिए फाइभले नेपालमा हाल संक्रमण बढाएको चिकित्सकहरूले बताएका छन् । कोभिडविरुद्धको खोपको पर्याप्त प्रयोगपछि पनि नयाँ भेरियन्ट फैलिएका कारण अझैसम्म महामारी नियन्त्रणमा आउन नसकेको विज्ञहरूले बताएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ११ लाख २१ हजार तीन सय एक पुगेको छ । मंगलबार सक्रिय संक्रमितको संख्या आठ सय ७३ पुगेको छ ।
कोभिड महामारीले घटायो मान्छेको आयु
संयुक्त राष्ट्रसंघले कोभिड महामारीका कारण विश्वव्यापी रूपमा मानिसको औसत आयुमा गिरावट आएको प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०१९ सम्ममा ७२.८ वर्ष रहेको मानिसको औसत आयु कोभिड महामारीपछि ७१ वर्षमा झरेको राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघले यसअघि सन् १९९० देखि औसत आयु नौ वर्षले बढेको देखाएको थियो । उच्च जनसंख्या वृद्धि र घट्दो मृत्युदरका कारण औसत आयुमा सुधार आइरहेको अघिल्ला प्रतिवेदनले देखाएका थिए ।
पछिल्लो प्रतिवेदनले महिला र पुरुषको आयुको अन्तरमा पनि फरक आएको जनाएको छ । २०१९ मा ५.२ वर्षको अन्तर रहेको आयु २०२१ मा बढेर ५.४ वर्ष पुगेको छ । राष्ट्रसंघको प्रतिवेदनले १५ नोभेम्बर २०२२ लाई विश्वको जनसंख्या आठ अर्ब पुग्ने दिन हुने अनुमान पनि गरेको छ । उसको विश्व जनसंख्या प्रक्षेपण सम्भावना २०२२ को यो प्रतिवेदनमा भारतले २०२३ मा विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशको रूपमा चीनलाई उछिन्ने दाबी गरिएको छ ।
जुलाईको दोस्रो साता दैनिक संक्रमण दुईजनामा झरेको थियो । तर, अहिले परीक्षणको पाँच प्रतिशत नाघेको छ । यसले कोरोनाको अर्को लहरको जोखिम बढाएको छ । प्रत्येक तीन महिनामा कोभिडविरुद्धको खोप लगाउन सम्भव छैन । यसका लागि हाम्रो जीवनशैलीमा नै परिवर्तन ल्याउनुपर्ने देखिएको छ ।