शुक्लाफाँटा ८ मा सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण अनिवार्य

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले सरकारी सेवा लिनका लागि आधारभूत तह उत्तीर्ण अनिवार्य गरेको छ। वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाका लागि सेवाग्राहीले कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको हो।

वडा कार्यालयले जारी गरेको सूचनामा ०६१ वैशाख १ देखि हालसम्म जन्मिएका, आधारभूत तह उत्तीर्ण नगरी विद्यालय छाडेका तथा अभिभावकलाई पुनः विद्यालय पठाउन पटक–पटक अनुरोध गर्दा पनि विद्यालय नगएका बालबालिकाको विषयमा थप कडा व्यवस्था अघि सारिएको उल्लेख छ।

विद्यालयबाहिर रहेका तथा आर्थिक, सामाजिक र पारिवारिक कारणले आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई पुनः विद्यालयको मूल प्रवाहमा ल्याउन यो कदम चालिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए। उनका अनुसार चालू आर्थिक वर्ष ०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं ८ भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका, तर विद्यालयबाहिर रहेका, अध्ययन नगरेका वा बिचमै विद्यालय छाडेका बालबालिकालाई विद्यालयको मूल प्रवाहमा ल्याउने कार्यक्रम सञ्चालन गरिएको हो।

आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गर्दै वडा कार्यालयले नेपाल सरकार तथा वडा कार्यालयबाट उपलब्ध गराइने जुनसुकै सेवासुविधा लिन आउँदा आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।

सुझावित समाचार