धनकुटा । परम्परागत, रैथाने तथा स्थानीय बिउ लोप हुने जोखिम बढिरहेका वेला धनकुटामा स्थापना गरिएको ‘जिन बैंक’ धनकुटा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
हुसाडेक नेपाल धनकुटाले नगरपालिका र युएनडिपीसँगको सहकार्यमा नगरपालिकापरिसरमा स्थापना गरिएको जिन बैंकमा हालसम्म २५ भन्दा बढी प्रजातिका करिब ७० जातका रैथाने बिउ संकलन गरिएको छ। हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको परियोजना समापन तथा प्रगति समीक्षा कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज थापाले जिन बैंक नगरप्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरे।
हुसाडेक नेपालले गत चैतदेखि स्थानीय रूपमा खेती हुँदै आएका, तर पछिल्लो समय खेतीको चलनबाट हराउँदै गएका विभिन्न बालीका बिउ संकलन गर्दै आएको जनाएको छ। हालसम्म बेलगुटी, बासमती, तौलीलगायतका रैथाने धानका जातसँगै फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुंगे, सौंफ, तोरी, चमसुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौँला, काक्रा, सेतो–रातो तिल, बकुल्ला, रातो–सेतो मकै, माझी बोडी तथा विभिन्न रैथाने कोदोलगायतका बिउ संकलन गरिएको छ।
कार्यक्रममा ‘राइस परियोजना’समेत समापन भएको जानकारी दिइएको छ। करिब ४६ हजार अमेरिकी डलरको लागतमा सञ्चालन गरिएको परियोजनाअन्तर्गत नगरपालिकाका विभिन्न क्षेत्रमा सोयल सिमेन्ट प्रविधिका पोखरी निर्माण, जिन बैंक स्थापना, माछापालन, समुदायमा आधारित कृषि पर्यटन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा काम गरिएको परियोजना प्रमुख नवीन भट्टराईले जानकारी दिए।