प्रचण्ड–चिनियाँ नेताबीच दुई घन्टा वार्ता : दुई देशका सरकार तथा पार्टीबीचका सम्बन्धबारे छलफल

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण
प्रचण्ड–चिनियाँ नेताबीच दुई घन्टा वार्ता : दुई देशका सरकार तथा पार्टीबीचका सम्बन्धबारे छलफल

सोमबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादीका शीर्ष नेतासँग भेटवार्ता गर्दै चिनियाँ प्रतिनिधिमण्डल ।

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का  अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ जियान्चाओले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रचण्डनिवास खुमलटारमा दुई पक्षबीच भएको भेटवार्तामा दुई देशका सरकार तथा पार्टीबीचका सम्बन्धबारे छलफल भएको छ । 

भेटमा लिउ जियान्चाओले नेपालको आन्तरिक मामिलामा कसैको हस्तक्षेप चीनलाई मान्य नभएको टिप्पणी गरेका छन् । लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पनि नेपालमा अस्थिरता सिर्जना गर्ने कामप्रति चासो राखेका थिए । उनले प्रचण्डसँग त्यही दोहोर्‍याएका छन् ।

नेपालको आन्तरिक मामिलामा र नेपालका पार्टीहरूको आन्तरिक निर्णय प्रक्रियामा चीनले हस्तक्षेप नगर्ने भन्दै अरूले गरेको हस्तक्षेप पनि चीनलाई मान्य नभएको लिउको भनाइ थियो । नेपाल र नेपालका कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको उनको भनाइ थियो । 

नारायणकाजी श्रेष्ठ, नेता, माओवादी
विशेषतः चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नुपरेका समस्या समाधान गर्ने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्न चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्गको स्तरोन्नति तथा केरुङ–रसुवागढी नाकामार्फत हुने द्विपक्षीय व्यापारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

भेटमा सहभागी माओवादी नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिउको भनाइ उद्धृत गर्दै सञ्चारकर्मीसँग भने, ‘नेपाल र नेपालका राजनीतिक दलहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको नीति हामी स्पष्ट गर्न चाहन्छौँ,’ लिउले थपे, ‘अरूले पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरून् भन्ने हाम्रो चाहना छ ।’

लिउले माओवादीसहित नेपालका राजनीतिक पार्टीसँग सम्बन्ध थप सुदृढ गर्ने चाहना व्यक्त गरे । त्यही क्रममा उनले पहिलो भ्रमण नेपालमा गरेको पनि उल्लेख गरे । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन हुन लागेको स्मरण गर्दै लिउले त्यसपछि दुई देश र पार्टीबीच सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणमा भएका समझदारी कार्यान्वयनका लागि चीन प्रतिबद्ध रहेको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता लिउले माओवादी केन्द्र, नेपालका सबै राजनीतिक पार्टी, नेपाल सरकार एक चीन–नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धतामा एकै ठाउँमा रहेकामा खुसी व्यक्त गरेका थिए । नेपालको विकासको प्रक्रियामा आगामी दिनमा सधैँ चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले एक चीन–नीतिप्रति पार्टी र नेपाल सरकार प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधि नेपाली भूमिमा हुन नदिन सबै पक्ष एक रहेको बताएका थिए । दुवै पक्षले ९ असारमा भएको भिडियो संवादको स्मरण गर्दै उच्चस्तरीय भ्रमण र सिकाइ आदानप्रदान हुनुपर्नेमा जोड दिएका थिए । भेटमा दुई पार्टीबीच ९ असारमा भएको भिडियो वार्तामा आपसी सहयोग र आदानप्रदानसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको थियो । 

भेटमा अध्यक्ष दाहालले आगामी दिनमा दुई देशका सहकार्यका क्षेत्रमा अझ राम्रो सम्बन्ध हुने भन्ने विश्वास व्यक्त गरेका छन् । माओवादीका तर्फबाट नेपालका सबै पार्टी र जनता एक चीन–नीतिप्रति प्रतिबद्ध रहेको र चीनलाई असल छिमेकीका रूपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको विचार व्यक्त गरेका छन् । प्रचण्डले नेपालको विकासको प्रक्रियामा चीनले अहिलेसम्म गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनले सहयोग गर्नुपर्ने विषयमा ठोस रूपमा चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘विशेषतः चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नुपरेका समस्या समाधान गर्ने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्न चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्गको स्तरोन्नति तथा केरुङ–रसुवागढी नाकामार्फत हुने द्विपक्षीय व्यापारमा सहयोग गर्न आग्रह गर्नुभयो,’ भेटमा सहभागी नेता श्रेष्ठले भने ।

प्रचण्डले ‘नेपाल चीनलाई असल मित्रका रूपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीतिमार्फत राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि प्रयोग गरेर चीनविरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा सिंगो नेपाल राज्य, नेपाल सरकार र माओवादी पार्टी प्रतिबद्ध छ’ भन्ने धारणा राखेका थिए । वार्तामा अध्यक्ष प्रचण्डसँग नेताहरू श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाललगायत थिए । सोमबार साँझ अध्यक्ष प्रचण्डले चिनियाँ नेताहरूको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए 

चिनियाँ नेता लिउले सोमबार बिहान सुन्दरीजलस्थित बिपी कोइराला संग्रहालय भ्रमण गरेका थिए भने बालबालिकासम्बन्धी एउटा कार्यक्रमलाई सम्बोधन गरेका थिए । ‘चीन र नेपालबीचको मित्रता पुस्तौँदेखि गहिरो जरा गाडेको छ र चीन–नेपाल सम्बन्धको भावी सम्भावना निकै फराकिलो भएको महसुस गरेको छु । म बिपी कोइराला संग्रहालय गएँ, चीन र नेपालका पुराना पुस्ताका नेताहरूबीच भएको आदानप्रदानका धेरै ऐतिहासिक तथ्य थाहा पाएँ,’ उनले भने । उनले नेपाल एक महान् देश, चीनको असल मित्र, छिमेकी र साझेदार भएको पनि बताए । 

देउवासँग भेटबारे सिपिसीले के भन्यो ?

चिनियाँ कम्युनिस्ट पार्टीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको कुराकानी सोमबार वेबसाइटमा राखेको छ । जसअनुसार देउवाले लिउलाई कांग्रेस पार्टी र नेपाल सरकार एक चीन–नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । नेपाललाई महामारीसँग लड्न, अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनमा सुधार गर्न, बिआरआईअन्तर्गत सहकार्यका लागि देउवाले चीनलाई धन्यवाद दिएका छन् । 

‘नेपालले चीनलाई विश्वासयोग्य मित्र मान्छ, एक चीन–नीतिलाई दृढतापूर्वक पालना गर्दछ र कुनै पनि शक्तिलाई नेपाली भूमिमा चीनविरोधी गतिविधिमा संलग्न हुन दिँदैन,’ देउवाको भनाइ थियो । सिपिसीका अनुसार देउवाले सिपिसीसँग मैत्रीपूर्ण आदानप्रदानका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका थिए । ‘नेपाल–चीन सम्बन्धको गहिरो विकासका लागि दुई पार्टीबीचको आदानप्रदान र सहयोगलाई अझ प्रगाढ बनाउन कांग्रेस तत्पर छ,’ भेटबारे सिपिसीले भनेको छ । 

लिउले नेपाल–चीन सम्बन्धलाई चीनले सधैँ रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको र विकास गरेको बताएको सिपिसीको वेबसाइटमा उल्लेख छ । ‘चीनले नेपालप्रति सदैव मैत्रीपूर्ण नीति राख्दै नेपालका सबै पक्षसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्ध कायम र विकास गरेको छ,’ लिउको भनाइ थियो, ‘चीनसँगको मित्रता नेपाल सरकार र प्रतिपक्षसहित सबै दलको सहमति र जनताको आकांक्षा पनि हो भन्ने चीनको विश्वास छ । नेपाल र चीनबीच उच्चस्तरको राजनीतिक पारस्परिक विश्वास दुई देशको परम्परागत मित्रता र व्यापक साझा हितबाट मात्र नभई द्विपक्षीय सम्बन्धमा दुई देशका राजनीतिक दलहरूले खेलेको महत्वपूर्ण भूमिकाबाट पनि अविभाज्य छ ।’ 

चिनियाँ नेता लिउको थप भनाइ थियो, ‘विश्व एक शताब्दीमा नदेखिने गहिरो परिवर्तनबाट गुज्रिरहेको र विश्व उथलपुथलको युगमा प्रवेश गरिरहेको ऐतिहासिक घडीमा चिनियाँ कम्युनिस्ट पार्टी नेपाली कांग्रेस पार्टीसँग रणनीतिक सञ्चारलाई सुदृढ गर्न, पारस्परिक लाभकारी सहयोग प्रवर्द्धन गर्न, आदानप्रदानलाई प्रगाढ बनाउन इच्छुक छ ।’ उनले आपसी सिकाइ र एक–अर्काको मुख्य चासो समावेश भएका मुद्दामा दुवैले एक–अर्कालाई समर्थन गर्नुपर्ने पनि उल्लेख गरे । 

राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । ‘नेपालको विकास र समृद्धिका लागि मित्रताको रणनीतिक साझेदारी दुई देश र जनताको हितमा हुनेछ,’ लिउको भनाइ थियो । लिउले प्रधानमन्त्री देउवालाई ‘सी जिनपिङ : द गभर्नेन्स अफ चाइना’ पुस्तकको चौथो अंग्रेजी संस्करण उपहार दिएका थिए । 

ओली–नेपालसँग वार्ता आज 

चिनियाँ नेता लिउ नेतृत्वको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार बिहान भेटवार्ता गर्ने तय भएको छ । मंगलबार अपराह्न चिनियाँ नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्किने कार्यक्रम छ ।

सुझावित समाचार