एक्स्काभेटर प्रयोग गरेर धोबीखोलामा फोहोर खसाल्ने प्राक्टिकल वेस्टले तिर्यो २५ हजार जरिवाना
काठमाडौं उपत्यकामा फोहोर संकलनको जिम्मा पाएका कम्पनीले नै नदी, खोलामा फोहोर फ्याँक्ने गरेको पाइएको छ । बागमतीसँगै अन्य खोलाका करिडोरमा ट्रान्सफर स्टेसन (फोहोर थुपार्ने र गाडीमा लोड गरेर ल्यान्डफिल साइट लग्ने) बनाएका कम्पनीहरूले नै खोलामा फोहोर मिसाउने गरेका हुन् ।
काठमाडौं महानगरको रातोपुल, ज्ञानेश्वर, घट्टेकुलो र बत्तीसपुतलीका ६ हजार घरबाट फोहोर संकलन गर्ने जिम्मा पाएको प्राक्टिकल वेस्ट सोलुसनले रातोपुलस्थित प्रहरी बिटसँगै धोबीखोलाछेउमा फोहोर खसालेको पाइएको छ । एक्साभेटरको बकेटमार्फत खोलामा फोहोर खसालिएको भिडियो सार्वजनिक भएपछि काठमाडौं महानगरले उक्त कम्पनीलाई २५ हजार जरिवाना तिराएको छ । यो कम्पनी फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्य ‘ध्रुव’को हो ।
महानगर वातावरण विभागका प्रमुख सरिता राईले फोहोरमैला व्यवस्थापन ऐन–२०६८ मा नदी, खोलासँगै सार्वजनिक स्थलमा फोहोर फ्याँक्न निषेध गरिएको र सो कानुन उल्लंघन भएको पाइएपछि जरिवाना गरिएको बताइन् । ‘धेरैजसो कम्पनीका स्टेसन नदी करिडोर क्षेत्रमा छन् । त्यहाँ फोहोर छुट्याउने, फोहोर लोड–अनलोड गर्ने गर्छन्,’ उनले भनिन्, ‘तर, फोहोर नदी, खोलामा पनि फ्याँकिँदो रहेछ । हामीले थप क्षेत्रमा पनि निगरानी राखेका छौँ ।’
केन्द्रीय तथ्यांक विभागले सन् २०२० मा दुई सय ७१ नगरपालिकामा गरेको आधार रेखा सर्वेक्षणअनुसार संकलित फोहोरमैलामध्ये २७.४ प्रतिशत नदी किनारमा थुपार्ने गरिएकोे जनाइएको छ । ४८.६ प्रतिशत ल्यान्डफिल साइटमा विसर्जन हुन्छ भने ३२.१ प्रतिशत फोहोर जलाइन्छ ।
वेस्ट सोलुसनका फिल्ड व्यवस्थापक ज्ञानेन्द्रकुमार श्रेष्ठले भने जानाजान फोहोर खोलामा फ्याँकिएको नभई एक्साभेटरको सहायताले लोड गर्न खोज्दा खोलामा खसेको जिकिर गरे । ‘नियमित फोहोर उठ्दा समस्या हुँदैन । तर, धेरै दिनसम्म नउठेपछि उपभोक्ताले पुल रातोपुलछेउमा फोहोर फ्याँक्छन् । त्यहाँ डंगुर लाग्छ । उठाउन खोज्दा खसेको मात्र हो,’ उनले भने । सार्वजनिक भएको भिडियो स्थानीय तहको निर्वाचनको मतगणनाताकाको रहेको उनले बताए । त्यतिखेर २१ दिनसम्म फोहोर उठेको थिएन । सार्वजनिक भिडियो हेर्दा फोहोर पानीमा बगाइएको देखिन्छ ।
चार हजार टन फोहोर थुप्रियो
उपत्यकाबाट दैनिक एक हजार दुई सय टन फोहोर उत्सर्जन हुन्छ । तर, नियमित फोहोर नउठ्दा कम्तीमा चार हजार टन फोहोर थुप्रिएको अनुमान काठमाडौं महानगरले गरेको छ । ‘फोहोर संकलन नै नभएको होइन । वर्षाका कारण बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो बिग्रिएको छ,’ वातावरण विभागका प्रमुख राईले भनिन्, ‘सहरी विकास मन्त्रालयमार्फत सडक निर्माण पनि भइरहेकाले ‘वान वे’मा चलिरहेको छ ।
उनका अनुसार हाल दैनिक १५० टिपर फोहोर मात्र ल्यान्डफिल साइट गइरहेको छ । बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र ल्यान्डफिल साइट खुला हुन्छ । ‘बिहान फोहोर लोड गरेर हिँडेको गाडी राति १० बजे मात्र काठमाडौं फर्कन्छ,’ प्राक्टिकल वेस्टका फिल्ड व्यवस्थापक श्रेष्ठले भने, ‘अरू वेला एउटा गाडीले दिनमा चार ट्रिप गर्न सकिन्छ, अहिले मुस्किलले एक ट्रिप फोहोर मात्र जान्छ ।’
नयाँ पत्रिकाकर्मी सोमबार रातोपुल पुग्दा पुलको दुवै छेउमा फोहोरको डंगुर थियो । श्रेष्ठका अनुसार त्यहाँ १४ दिनदेखि फोहोर थुप्रिएको छ । थुप्रिएको फोहोर ६ गाडी रहेको आकलन छ । फोहोरको थुप्रो लागेपछि महानगरले आइतबार टेकुमा प्लास्टिकले छोपेको छ । फोहोर थुप्रिएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सोमबार मात्र फोहोर व्यवस्थापनमा काम गरिरहेका कम्पनी र गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए ।
फोहोरका ठेकेदारले कुटे कर्मचारी
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई अनुगमनका क्रममा कुटपिट गर्ने फोहोर संकलनका ठेकेदार सुभास घिसिङ पक्राउ परेका छन् । फोहोर संकलनको ठेक्का चलाउने उनले समितिका कर्मचारी बलराम श्रेष्ठलाई सोमबार कुटपिट गरेका हुन् ।
बागमती किनारमा फोहोर संकलन गरेको विषयमा समितिले पत्र लेखेर उनलाई त्यसो नगर्न चेतावनी दिँदै आएको थियो । समितिको क्युआरटी टिममा रहेका श्रेष्ठले गुहेश्वरी नयाँपुलको क्षेत्रमा अनुगमन गरी फोहोर फालेको भिडियो खिच्दै गर्दा घिसिङले कुटेका हुन् । उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । कर्मचारी श्रेष्ठको टाउकोमा चोट लागेको छ । ‘हामीले निजी जग्गामा फोहोर संकलन गरेर व्यवसाय गर्न भनेर भन्दै आए पनि उनले मानेका थिएनन्,’ समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले भने, ‘आज त अनुगमनको क्रममा कर्मचारीमाथि नै कुटपिट गरे ।’ उनले सडक नै छेकेर फोहोर राख्ने र बागमती किनारमा समेत जम्मा गर्दै आएको स्थानीयले समेत गुनासो गर्दै आएका छन् ।