श्रीलंकाको आर्थिक संकट र त्यसबाट उत्पन्न परिणाममाथि संसारभरका मानिसले कुनै न कुनै रूपमा चासो र चिन्ता देखाइरहेका छन् । यो संकटको प्रभाव श्रीलंकाकै खेलक्षेत्रमा नपर्ने सम्भावनै भएन । श्रीलंका संकटबीच अस्ट्रेलियाको क्रिकेट टिम श्रीलंका टुरमा थियो । खासमा यस टुरलाई देशको आर्थिक संकटकालीन अवस्थाको ध्यान मोड्ने प्रयास पनि भनिएको छ । श्रीलंकन नागरिक पनि खेल हेरेर बसेनन्, बरु केही महिनायताकै सबैभन्दा ठूलो प्रदर्शनमा भाग लिन सडकमा निस्किए । सोही दिन राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपाक्षे राष्ट्रपति निवास छाड्न बाध्य भए ।
हजारौँ प्रदर्शनकारी गत शनिबार अस्ट्रेलिया र श्रीलंकाबीच खेल भइरहेको गाल अन्तर्राष्ट्रिय रंगशालाको छेउबाट गुज्रिएका थिए । सयौँको संख्यामा प्रदर्शनकारीले नजिकै रहेको गाल फोर्टको पर्खाल चढेर रंगशालाभित्रको खेल पनि हेरेका थिए । खेलको स्वाद लिँदासमेत उनीहरू ‘गो होम गोटा’को तुल बोकिरहेका देखिन्थे । ‘हामीले रंगशालाबाहिर मानिसको चर्को नाराबाजी सुनिरहेका थियौँ । आज श्रीलंका संकटमा छ र मानिसहरू विरोधमा सडकमा उत्रिएका छन्,’ अस्ट्रेलियन क्रिकेट टोलीका खेलाडी स्टिभ स्मिथले एएफपीसँगको कुराकानीमा भने । बाहिरको हल्ला सुनिएको भए पनि त्यसले खेलमा भने कुनै असर नगरेको पूर्वकिपर स्मिथ भन्छन् । स्मिथ १४५ मा नटआउट भएर इनिङ समाप्त भएको थियो ।
गाल फोर्टमा प्रदर्शनकारी, क्रिजमा स्मिथ
रंगशालाबाट देखिने केही परको ऐतिहासिक गाल फोर्ट (किल्ला) मा प्रदर्शनकारी चढ्दा स्मिथ क्रिजमा थिए । खेलमा लन्च हुन एक घन्टा बाँकी थियो । ‘मैले पनि बिहान प्रदर्शनकारीलाई देखेको थिएँ । तर, धेरै ख्याल गरिनँ,’ स्मिथले भने । प्रतियोगिताका कमेन्टेटर र प्रतियोगिता सञ्चालक अधिकारी भने प्रदर्शनकारीहरू फोर्टमाथि देख्दा बढी उत्साही देखिन्थे । उनीहरू बाल्कोनीबाट प्रदर्शनकारीको फोटो खिचिरहेका थिए ।
हजारौँ प्रदर्शनकारी गत शनिबार अस्ट्रेलिया र श्रीलंकाबीच खेल भइरहेको गाल अन्तर्राष्ट्रिय रंगशालाको छेउबाट हिँडिरहेका थिए । सयौँको संख्यामा प्रदर्शनकारीले नजिकै रहेको गाल फोर्टको पर्खाल चढेर रंगशालाभित्रको खेल पनि हेरेका थिए । खेलको स्वाद लिँदासमेत उनीहरू ‘गो होम गोटा’को तुल बोकिरहेका देखिन्थे ।
शनिबार श्रीलंकाका धेरै स्थानमा राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएको थियो । सबैभन्दा ठूलो प्रदर्शन राजधानी कोलम्बोमा भयो । त्यहाँ प्रदर्शनकारीको एक हिस्सा राष्ट्रपतिको सरकारी निवास घेरा हाल्न जाँदा प्रदर्शनकारीको थामिनसक्नु भिड देखेर राष्ट्रपति गोटाबाया राजपाक्षे निवास छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए । गाल रंगशालानजिक जम्मा भएका प्रदर्शनकारीले दिनभर नै देशको झन्डा हल्लाउँदै परिवर्तनको नारा लगाइरहे । सोही स्थानमा उपस्थित एक प्रदर्शनकारी जनिथ मालिङ्गा एएफपीसँगको कुराकानीमा भन्छन्, ‘मेरी श्रीमती र म दुई महिनादेखि एक छाक मात्र खाएर बाँचिरहेका छौँ । यसो गर्दा मात्र हाम्रा सन्तानले पुग्ने खाना पाउँछन् । सबै कुरा बिग्रिएको छ । श्रीलंका यस्तो होला भनेर हामीले सपनामा पनि सोचेका थिएनौँ ।’
खाद्य र इन्धनको चरम संकटमा श्रीलंका
टापु मुलुक श्रीलंकाको आर्थिक संकट गहिरिएपछि केही महिनादेखि नागरिक चरम खाद्यान्न तथा इन्धन अभावसँग जुधिरहेका छन् । इन्धनको अभावले कैयौँ विद्युत् गृह बन्द भएका छन् । आममानिस घन्टौँ लामो लोडसेडिङमा छन् । यी सब समस्याबीच हरेक सामानको भाउले आकाश छोएको छ । आममानिसलाई गुजारा गर्न निकै कठिन भइरहेको छ ।
टुरले थोरै भए पनि श्रीलंकालीलाई खुसी दिने आशा थियो : फिन्च
अस्टेलियाका ‘ह्वाइट बल’ क्याप्टेन आरोन फिन्चले यो टुरले संकटसँग जुधिरहेको श्रीलंकालाई थोरै भए पनि ‘खुसी’ दिलाउने आशा गरेको बताएका थिए । अस्टे«लियन टोली दोस्रो टेस्ट खेलअन्तर्गत ८–१२ जुलाईसम्म श्रीलंका रहने समयतालिका छ ।
संकटले तालिका बदलिँदैन : क्रिकेट बोर्ड
क्रिकेट नियामक संस्थाहरूले राजनीतिक संकटका माझ खेलको पूर्वतालिकामा परिवर्तन नहुने बताएका छन् । ‘खेल गराउने विषयमा कसैको विरोध छैन । खासमा श्रीलंकनहरू खेलप्रति सकारात्मक नै देखिन्छन् । त्यसैले खेलको पूर्वतालिकामा कुनै परिवर्तन गरिनेछैन,’ क्रिकेट बोर्डका एक अधिकारीको भनाइ छ । खासमा अस्ट्रेलियन क्रिकेट टोलीसँगै पाकिस्तान क्रिकेट टिम पनि आगामी सिरिजका लागि श्रीलंका पुगिसकेको छ ।