कञ्चनपुर उवासंघको अध्यक्षमा जोशी निर्वाचित

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण
कञ्चनपुर उवासंघको अध्यक्षमा जोशी निर्वाचित

कञ्चनपुर उद्योग वाणिज्य संघमा निर्वाचित भएका अध्यक्ष पीताम्बर जोशीसहितका पदाधिकारी

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पीताम्बर जोशी निर्वाचित भएका छन् । वाणिज्य संघको १७औँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनमा जोशी निर्वाचित भएका हुन् । 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई पाँच सय ५८ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले आइतबार दिउँसो मत परिणाम घोषणा गर्दै अध्यक्ष पदका प्रतिस्पर्धी पीताम्बर जोशीले एक हजार दुई सय ९९ र अर्का प्रतिस्पर्धी गणेशदत्त जोशीले सात सय ८३ मत ल्याएको बताए ।

वाणिज्य संघको नयाँ अध्यक्षमा निर्वाचित जोशी यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने पराजित भएका गणेशदत्त जोशी अध्यक्ष भइसकेका हुन् । वाणिज्य उपाध्यक्षतर्फ धर्मसिंह रावल निर्वाचित भएका छन् । रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वी वासुदेव जोशीलाई दुई सय ७० मतको अन्तरले पछि पारेका थिए । रावलले सात सय ५८ र जोशीले चार सय ८८ मत ल्याएका छन् ।

त्यस्तै, महासचिवमा खगेश्वरप्रसाद बोहरा निर्वाचित भएका छन् । बोहराले आफ्ना निकटतम प्रतिद्वन्द्वी निर्मला भट्ट (सापकोटा)लाई चार सय एक मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन् । भट्टले आठ सय मत ल्याइन् भने बोहराले एक हजार दुई सय एक ल्याएका थिए । कार्यसमितिमा अध्यक्ष पीताम्बर प्यानलकै तीनैजना पदाधिकारी निर्वाचित भएका छन् ।

यसअघि संस्थापक सदस्य, खुला सदस्य र चार पदाधिकारीमा निर्विरोध निर्वाचित भएका थिए । पदाधिकारीमा पनि पीताम्बर प्यानलकै वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सदस्यतर्फ नेपाल औषधि व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुढा निर्विरोध निर्वाचित भएका थिए । 

सुझावित समाचार