मधेस प्रदेश : दुई विधेयक पारित

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेश सभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक आज बहुमतले पारित गरेको छ । आज बसेको प्रदेश सभा बैठकमा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको शोक मनाउने संघीय सरकारले निर्णय गरेको अवस्थामा आजको प्रदेश सभा बैठकमा शोक प्रस्ताव पारित गरी बैठक स्थगन गर्न माग गरिएको थियो । सभामुख सरोजकुमार यादवले उक्त प्रस्तावमाथि पछि छलफल गरौँला भन्दै बैठकअघि बढाउन खोजेपछि प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले)का प्रदेश सभा सदस्यहरूले आजको बैठक बहिष्कार गरी बैठक कक्षबाट बाहिरिएका थिए । 

प्रतिपक्षी दलका प्रदेश सभा सदस्य बैठक कक्षबाट बाहिरिएपछि १५ मिनेटका लागि स्थगन भएको बैठक प्रतिपक्षी दलका सदस्यहरूको अनुस्थितिमै पुनः सञ्चालन भएको थियो । सो बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित सबै विभागीय मन्त्रीहरूले प्रदेश सभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिए ।

मन्त्रीहरूको जवाफ सकिएपछि सभामुख यादवले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ पारित भएको घोषणा गरे।  प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेश सभा बैठकमा आगामी आव ०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । 

यस्तै, मधेस प्रदेश सभाको आजैको बैठकले प्रदेश सभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री प्रमोदकुमार यादवले प्रस्तुत गरेको सो विधेयक पारित भएको सभामुख यादवले घोषणा गरे । 

त्यस्तै, आजको बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याप्रति शोक प्रस्ताव पारित गरेको सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।  प्रदेश सभाको अर्को बैठक भोलि असार २६ गते बिहान ९ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

सुझावित समाचार