बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

बाजुराकाे बुढीगंगा नगरपालिकामा मतदान सुरु भएकाे छ । कडा सुरक्षाका साथ आज उत्साहपूर्ण रूपमा मतदान जारी छ ।  निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण  रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए। 

३० वैशाखमा कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानस्थलमै कुटपिट भएपछि निर्वाचन रोकिएको थियो ।  १० मतदानस्थल र १९ मतदान केन्द्र तोकिएको नगरपालिकामा सुरक्षित वातावरणमा मतदान गराउन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

हरेक मतदानस्थलमा सयको हाराहारीमा सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका डिएसपी सूर्यबहादुर थापाले बताए । उनका अनुसार एक साताअघिदेखि नै सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन भएका छन् । मंगलबारदेखि मतदान क्षेत्रका स्थानीय गाउँमा संयुक्त गस्तीसमेत सुरु गरेको उनले बताए । 

‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौँ,’ डिएसपी थापाले भने, ‘पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ ।’ हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट इन्स्पेक्टरको कमान्ड रहने व्यवस्था मिलाइएको छ । जिल्ला निर्वाचन कार्यालयले बुढीगंगामा पुनः मतदान गराउन ९५ कर्मचारी खटिएका जनाएको छ । 

१० वडा रहेको नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता छन् । नगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् । कांग्रेसले मेयरमा रंग खाती र एमालेले रामबहादुर बानियाँलाई उठाएको छ । 

३० वैशाखको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा हुन नसकेको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले नै पुनः गर्ने गरी निर्वाचन स्थगित गरेको थियो । निर्वाचन पुनः गराउन माग गर्दै २६ जेठमा सर्वोच्च अदालतमा मुद्दा दायरसमेत भएको थियो । 

१४ असारमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । 

See More On

सुझावित समाचार