अर्थमन्त्रीको विषयमा माओवादीले पनि जवाफ दिनुपर्छ : झलनाथ खनाल

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित पार्टी माओवादी केन्द्र र अर्थमन्त्री आफैँले दिनुपर्ने बताएका हुन् । 

‘अहिले जुन धरातलबाट यो प्रश्न उठेको छ यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ । सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ । यस्ता सवालमा हामीले हेलचेक्य्राइँ गर्नुहुँदैन । लिपपोत पनि गर्नुहुँदैन,’ नेता खनलले  भने, ‘मुलुकमा सबै कुरा पारदर्शी हुनुपर्छ भनेर हामी संविधान लेख्ने । अनि काममा त्यो नगर्ने खालको कुराहरू हुनुहुँदैन । सबैकुरा पारदर्शी हुनुपर्छ ।’

अर्थमन्त्रीमाथि उठेको सवालहरूको हेलचेक्य्राइँ गर्नु नहुने नेता खनालको भनाइ थियो । उनले अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरूलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राखे । बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वाभाविक भएको उनले बताए । 

‘कहीँ गल्ती, कमजोरी भएको छ भने सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ । घटनाक्रमको राम्रो ढंगले छानबिन र त्यसको तथ्यहरू बाहिर आउनुपर्याे । तथ्यहरू अहिले जसरी प्रचार भइराखेको छ, त्यो प्रचार भएको कुरा सही हो भने राजीनामा स्वाभाविक कुरा हो,’ उनले भने, ‘यो एकदमै गम्भीर घटना हो र यो घटनाको सत्य कति हो राम्ररी छानबिन गरेर बाहिर ल्याइनुपर्छ ।’

नेता खनालले अर्थमन्त्री शर्मामाथिको आरोपको विषय गठबन्धनमा छलफलयोग्य विषय भए पनि हालसम्म गठबन्धनमा छलफल नभएको पनि बताए । 

सुझावित समाचार