मंगलबार बिहानदेखिको अविरल वर्षाले प्रदेश १ का विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार झापा, मोरंङ, सुनसरी, उदयपुर, खोटाङ, इलाम, सोलुखुम्बुलगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका– १० मा खैरो खोलामा आएको बाढीले आवत जावतमा समस्या परेको छ । त्यस्तै, कटारी नगरपालिका–१४ मा पहिरोले राजमार्ग अवरुद्ध भएको छ । धनकुटा ९ मा पनि पहिरोले बाटो अवरुद्ध बनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ब्रम्हखोलामा आएको बाढीले पनि आवागनमा अवरोध पुर्याएको छ । संखुवासभाको धर्मदेवी नगरपालिका–१ मा पहिरोले स्थानीय अनबहादुर खड्काको चौपाया गोठ पुरिँदा क्षति भएको छ ।
त्यसैगरी, मोरङको रंगेली सडक खण्डमा कल्भर्ट बगाउँदा बुधबार दिनभर सवारी आवागमन अवरुद्ध भयो । इलाम नगरपालिका–८, माइबेनीमा हाइड्रोपावरको बाँध फुटाएको छ । यसैगरी, सुनसरीको बर्जु गाउँपालिका– ५, देउताटोलमा खोलाको बाढीले १५ घर विस्थापित भएका छन् । सोलुखुम्बुको सोताङ गाउँपालिकामा बाढीले ५० लाखबराारको क्षति पुर्याएको छ । झापाको भद्रपुर–१०, जैतुवारीमा बाढीले १२ मिटरको पक्की पुल बगाएको छ । खोटाङको मजुवागढी नपा–२ मा पहिरोले बाटो अवरुद्ध गराएको छ ।
प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिकामा डुबानले गर्दा करिब दुई सय पचास घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई वसिम आलम नेतृत्वको युवा समूहले खाना खुवाउने काम गरेको छ । यसैगरी, बुढीगंगा, कटहरी, धनपालथानलगायतका गाउँपालिका, सुन्दरहरैँचा, बेलबारी, सुनबर्सी, रतुवामाई र रंगेली नगरपालिकाका बासिन्दाहरू पनि उच्च जोखिममा रहेका छन् ।
भारी वर्षाका कारण समस्या बढेपछि विराटनगर महानगरपालिकाले १७ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बुढीगंगा, जहदा, कटहरीलगायतका पालिकाहरूले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
वर्षाको भेलमा डुबेर विराटनगरमा मंगलबार राति एकजनाको मृत्यु भएको छ भने निर्माणाधीन पुल भत्किएको छ । अविरल वर्षाको डुबानले गर्दा सुनसरी-मोरङ औद्योगिक करिडोरका पचासभन्दा बढी उद्योगहरूको उत्पादन बन्द भएको उद्योग संगठन मोरङले जनाएको छ ।