नवनिर्वाचित वस्तुगत संघका पदाधिकारीलाई महासंघको स्वागत

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्य वस्तुगत संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई तथा स्वागत गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले बुधबार नवनिर्वाचित पदाधिकारीलाई सचिवालयमा स्वागत गर्दै बधाई दिएका हुन् ।

महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको बधाई एवं स्वागत कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैँची व्यवसायी महासंघ, नेपाल चलचित्र संघ, नेपाल बिउ व्यवसायी संघ, नेपाल टुर एन्ड ट्राभल एसोसिएसन र नेपाल दाना उद्योग संघका नवनिर्वाचित पदाधिकारी पुगेका थिए ।

अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र र निजी क्षेत्रको प्रवद्र्धनमा क्याप्टेनको भूमिका खेल्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे । इँटा उद्योग महासंघका नवनिर्वाचित अध्यक्ष शंकरबहादुर चन्दले देशमा १२ सय इँटा उद्योग रहेकोमा कोभिडपछि सात सय मात्र सञ्चालनमा आएको बताए ।

इँटा उद्योगले सिजनमा प्रत्यक्ष र अप्रत्यक्ष गरी पाँच लाखलाई रोजगारी दिइरहेको बताउँदै उनले इँटा व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएको गुनासो पोखे । ‘इँटा उद्योगलाई बिमा कम्पनीले पनि पत्याएनन्, सरकारले पनि प्राथमिकतामा राखेन’ उनले भने, ‘अहिले इँटा उद्योगमा दक्ष जनशक्तिको चर्को अभाव छ, भारतबाट जनशक्ति ल्याएर उद्योग सञ्चालन गर्नुपर्छ ।’ कार्यक्रममा उपाध्यक्षद्वय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठलगायतको सहभागिता थियो । 

सुझावित समाचार