गोरखाका सामुदायिक विद्यालयमा अझै पुगेन पुस्तक

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

अभिभावक भन्छन्– समयमै पुस्तक नआउँदा विद्यार्थीको पढ्ने बानी हरायो

शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पढाइमा असर परेको अभिभावकहरूले गुनासो गर्न थालेका छन् । निजी विद्यालयमा धमाधम पढाइ भइरहे पनि सरकारी विद्यालयका विद्यार्थी पुस्तक अभावमा पढाइबाट वञ्चित भएका छन् ।

समयमै पुस्तक नआउँदा विद्यार्थीमा पढ्ने बानी नै हराउँदै गएको पालुङटार नगरपालिका–९ स्थित मदनेडाँडा माविका प्रधानाध्यापक रुद्र उप्रेतीले बताए । ‘३ जेठदेखि पढाइ सुरु गरेका थियाैँ, तर अहिलेसम्म पुस्तक आइपुगेकै छैन, केही विद्यार्थीले पुरानो पुस्तक पढिरहेका छन्,’ उनले भने, ‘कक्षा ४, ७ र ९ को किताब अझै आएको छैन,’ उनले भने ।

पुस्तक अभावले पढ्न, पढाउन समस्या भएको उप्रेतीले बताए । ‘जिल्लामा १० प्रतिशत किताब आएको भन्ने सुनेको छु, विद्यालयले त्यो पनि पाएका छैनन् । अझै एक हप्ता पर्खनु भनेका छन्, कहिले आइपुग्ने हो, थाहा छैन,’ उनले भने । विद्यार्थी, अविभावकले किताब कहिले आउँछ भनेर बारम्बार सोध्ने गरेको उनले बताए । 

पाठ्यपुस्तक समयमै नआउँदा विद्यालयको कार्ययोजनाअनुसार पठनपाठन अघि बढाउन समस्या भएको धार्चे गाउँपालिका–४, लाप्राकस्थित मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङ बताउँछन् । ‘विद्यालयमा पढाउन सुरु गरेको लामो सयम भइसक्यो, अहिलेसम्म पुस्तक आएको छैन । पुरानो पुस्तक दिएर पढाइरहेका छौँ, त्यो पर्याप्त छैन,’ उनले भने । पाठ्यपुस्तक नहुँदा प्रत्येक हप्ता लिने एकाइ परीक्षा प्रभावित भएको उनले बताए । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित बुद्ध माविमा पनि पुस्तक पुगेको छैन । ‘सोमबार आरुघाटबाट पठाइदिएका छौँ भन्नुभएको छ, बाटो खराब भएकाले माछाखोलाबाट फिलिमसम्म खच्चडमार्फत बोकेर ल्याउने कुरा भएको छ,’ प्रधानाध्यापक प्रकाश घिमिरेले भने । कक्षा ८ को अंग्रेजी र स्वास्थ्य विषयको किताब नआएको उनले बताए । अघिल्लो वर्ष वैशाखमै किताब आइसकेको भए पनि यो वर्ष किताब आउन ढिलाइ हुँदा पठनपाठन प्रभावित बनेको घिमिरेले बताए । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेश सहसचिव प्रदीप खनालले गोरखामा हालसम्म २० प्रतिशत मात्र पुस्तक आइपुगेको बताए । भौगोलिक रूपमा विकट भएकाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखराले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा भने ८० प्रतिशत किताब पठाएको उनले बताए । यीबाहेक अन्य पालिकामा २० प्रतिशत मात्र पुस्तक जिल्लामा आइपुगेको उनको भनाइ छ ।

जिल्लाका विद्यालयमा चारदेखि पाँच हजार सेट पुस्तक आवश्यक परे पनि हालसम्म एक हजार सेट मात्र आइपुगेको खनालले जानकारी दिए । मतपत्र छपाइ र युक्रेन युद्ध, नेपाली कागजको अभावका नाममा कर्मचारीले पुस्तक छपाइमा ढिलो गरेका कारण समयमै पाठ्यपुस्तक नआएको उनले बताए । 

गण्डकी प्रदेशका ११ जिल्लालाई जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध गराउँदै आएको छ । पाठ्यक्रम फेरिएकाले सामुदायिक विद्यालयमा कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । जिल्लामा आवश्यकताअनुसार पुस्तक पुर्‍याउन अझै डेढ महिना लाग्ने उनको भनाइ छ । 

See More On

सुझावित समाचार