विभाजनपछि विप्लव नेकपाको केन्द्रीय समितिको पूर्ण बैठक उदयपुरमा

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

विभाजनपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको १३औँ पूर्ण बैठक उदयपुरको रौतामाई गाउँपालिकामा सुरु भएको छ । बिहीबारदेखि रौतामाईको पर्यटकीय केन्द्र रौतापोखरीमा विप्लवको अध्यक्षतामा बैठक सुरु भएको हो ।

नेकपा उदयपुरका जिल्ला सेक्रेटरी लक्षमण पौडेलका अनुसार बैठक करिब एक हप्ता चल्नेछ । उनले भने, ‘बैठकमा विभिन्न एजेन्डामा छलफल हुने भएकाले झन्डै एक हप्ता चल्ने अनुमान गरिएको छ ।’

बैठकको उद्घाटन गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औँ  महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । उक्त राजनीतिक प्रस्ताव र महाविधेशनको राजनीतिक प्रस्तावमा छलफल हुने पौडेलले बताए । उनले भने, ‘बैठकमा सहभागीहरू ५८ जना केन्द्रीय सदस्यहरू र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूले राजनीतिक प्रस्तावमाथि शुक्रबारदेखि आफ्ना धारणा राख्ने  कार्यक्रम  रहेको छ ।’

गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले विप्लव नेतृत्वको नेकपा विभाजित भएको थियो ।

सुझावित समाचार