सरकारले संसदमा विचाराधीन नागरिकता विधेयकलाई सबै दलको सहमतिमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो आश्वासन दिएकी हुन्। राष्ट्रिय परिचय-पत्रलाई तदारुकताका साथ वितरण गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
व्यक्तिगत घटना दर्ताको कामलाई विद्युतीय प्रणालीमा आवद्ध गरी त्यसलाई वडास्तरसम्म विस्तार गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘संसदमा विचाराधीन नागरिकता विधेयकलाई सहमतिको आधारमा छिट्टै टुंगोमा पुर्याउन पहल गरिनेछ । राष्ट्रिय परिचय-पत्रलाई तदारुकताका साथ वितरण गरिनेछ । त्यसलाई सबै प्रकारको सेवा प्रवाहमा क्रमशः आवद्ध गर्दै लगिनेछ । व्यक्तिगत घटना दर्तालाई विद्युतीय प्रणालीमा आवद्ध गरी वडास्तरसम्म विस्तार गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्, सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीद्वारा संचालन गरिनेछ ।’