१३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनबाट १३ हजारभन्दा बढी उम्मेदवार निर्विरोधसमेत गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३:३० बजेसम्म १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको बताए। 

जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले जानकारी दिए। त्यसैगरी वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७  निर्वाचित भएको उनले उल्लेख गरे। 

विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनी गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा आज मतदान भएको प्रवक्ता पौडेलले जानकारी दिए। 

त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले बताए। 

मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सूचना दिएर निर्वाचन गराइने बताए। आयोगका प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहीँ पनि नचुकेको स्पष्ट पारे।

*यसअघिको समाचार शीर्षकमा त्रुटी भएकोले सच्याइएको छ।
 

सुझावित समाचार