नमुना मतदानमा ७७% सम्म मत बदर

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

शुक्रबार हुने मतदानमा विगतका निर्वाचनमा भन्दा मत बदर दर झन् बढ्ने जोखिम देखिएको छ । निर्वाचन आयोगले जिल्लाहरूमा गरेको नमुना मतदानमा देखिएको बदरको ‘ट्रेन्ड’ले धेरै मत खेर जाने संकेत गरेको हो । जिल्लाका निर्वाचन अधिकृत, न्यायाधीश, सरकारी कर्मचारी, सञ्चारकर्मी, दलका प्रतिनिधि र उम्मेदवार स्वयं मतदाता बनेका नमुना मतदानमै ७७ प्रतिशतसम्म मत बदर भएको छ ।

रसुवा सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा मंगलबार भएको नमुना मतदानमा ३१ मत खसेकोमा सात मत मात्रै पूर्ण सदर भएका छन् । एउटा पूर्ण र २३ मत आंशिक बदर भएका छन् । बदर मत कुल खसेको मतको ७७ प्रतिशत हो । छैटौँ लहरमा खुला सदस्यलाई दिएका अधिकांश मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

खुला सदस्यका लागि कुनै दुईवटामा मत संकेत गर्नुपर्नेमा तीनवटासम्ममा मत दिँदा बदर भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । नमुना मतदानमा जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृत, सरकारी कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी र स्थानीय नागरिक सहभागी थिए ।

दोलखा : ३३% मत आंशिक बदर
दोलखाको भीमेश्वर नगरपालिका– ६ स्थित चोथाङमा रहेको वडा कार्यालयमा बुधबार भएको नमुना मतदानमा ७३ मत खसेकामा २४ आंशिक बदर भएका छन् । निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईका अनुसार प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारी तथा मतदान केन्द्रमा परिचयपत्रबारे बुझ्न आएका स्थानीय मतदातालाई मतदानमा सहभागी गराइएको थियो । 

झापा : ३६ मतमा पाँच बदर
निर्वाचन कार्यालय झापाले १५ वैशाखमै नमुना मतदान गरेको थियो । मेची बहुमुखी क्याम्पस भद्रपुरमा भएको उक्त मतदानमा त्यहाँ अध्ययनरत ३६ विद्यार्थी सहभागी थिए । कुल खसेकोमा ३० सदर, पाँच बदर भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसी नेपालले जानकारी दिए । उनका अनुसार एक मत नबिदा (एउटा मतदाताको नाममा अर्काले भोट हाल्ने र पछि आधिकारिक व्यक्ति पुगे बेग्लै खामबन्दी गरेर राख्ने)मा परेको छ । यस्तो मत सुरुमा गणना नगरिने, तर उम्मेदवारबीच बराबरी मत आएको अवस्थामा खामबाट निकालेर गणना गरिने नियम रहेको नेपालले बताए । 

हुम्ला : ५९ मत खस्दा १० बदर

हुम्लामा कर्मचारी, सञ्चारकर्मीलगायत सहभागी नमुना मतदान पनि सन्तोषजनक देखिएन । मंगलबार भएको मतदानमा ५९ मत खस्दा १० बदर भएको निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए । यो १७ प्रतिशत हो । सरकार र राजनीतिक दल दुवैबाट मतदाता शिक्षा नदिएका कारण बदर मत बढी देखिएको उनको भनाइ छ । मतदानमा सहभागी प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लामा यसपालि बदर मत बढ्ने संकेत नमुना मतदानले देखाएको बताइन् । 

रुपन्देही :  नमुना मतदानमा कम सहभागी, बदर पनि कम

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा नमुना मतदान भएको थियो । तर, यी मतदानमा क्रमशः ४९ र ४५ मतदाता मात्रै सहभागी थिए । लुम्बिनी सांस्कृतिकमा ४९ मध्ये एक मत बदर भएको निर्वाचन कार्यालयका नासु टेकराज पन्थीले जानकारी दिए । उनका अनुसार मायादेवीमा भने ४५ मा ३ मत बदर भएको थियो । धेरै उम्मेदवार भएको स्थानमा छुट्टै मतपत्र हुने भएकाले त्यहाँ बदर मत बढी भएको पन्थीले बताए । नमुना मतदानमा औँलामा मसी लगाउँदा शुक्रबारको निर्वाचनसम्म रहने र मतदान गर्न नपाउने आशंकाका कारण नमुना मतदानमा कम सहभागी भएको निर्वाचन आयोगका कर्मचारी बताउँछन् । 

सुर्खेत : एकतिहाइ बदर

जिल्ला निर्वाचन कार्यालय सुर्खेतले गत शनिबार गरेको नमुना मतदानमा एकतिहाइ मत बदर भएका छन् । ३६ मत मात्रै खसेकोमा १२ मत बदर भएको हो, जसमा १० आंशिक र दुई पूर्ण बदर भएका प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । ‘सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर हुन्,’ उनले भने, ‘स्थानीय तह चुनावमा मतदान गर्न ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएको छ ।’ जिल्लाका सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रमुख मतदानमा सहभागी थिए । 

लमजुङ : २५ प्रतिशत पूर्ण बदर 

लमजुङको नमुना मतदानमा ३० मत खसेकामा सात मत अर्थात् २५ प्रतिशत पूर्ण रूपमा बदर भएका छन् । अन्य केही मत आंशिक बदर भएका थिए । बेँसीसहर– ८ फूलबारीमा भएको मतदानमा निजामती कर्मचारी, म्यादी प्रहरीलगायत सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय सभागी थिए । 

पोखरा : १७ प्रतिशत मत बदर

प्रदेश निर्वाचन कार्यालय पोखरामा सोमबार भएको नमुना मतदानमा ५३ मत खसेकामा नौ बदर भएका छन्, जुन १७ प्रतिशत हो । उक्त मतदानमा नागरिक समाजका अगुवा, सञ्चारकर्मी, स्थानीयलगायत सहभागी थिए । मतदाता परिचयपत्र लिन आउँदा मतदातालाई सिकाउन थालिएकाले नमुना मतदानमा जस्तो बदर नहुने प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीको दाबी छ । 
 
रुकुम पश्चिम : ८४ मा ८ मत बिग्रिए

रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ स्थित यमुनानन्द नमुना माविमा भएको नमुना मतदानमा ८४ मत खसेकामा आठवटा बदर भएका छन् । मतदान गर्ने अधिकांश सर्वसाधारण भए पनि स्थानीय तहकै जनप्रतिनिधिदेखि कर्मचारीसमेत थिए । जिल्ला निर्वाचन अधिकारी कुमारीरिमा मल्लका अनुसार एक छाप हान्नुपर्ने ठाउँमा दुईपटक छाप हानेको, दुई चिह्नको बीचमा छाप हानेकाजस्ता गल्तीले मत बदर भएका छन् । यद्यपि, मत बदर नहोस् भनेर विभिन्न माध्यमबाट निर्वाचन शिक्षा दिइएको उनको दाबी छ । 

रुकुम पूर्वमा भने ४० जना नमुना मतदानमा सहभागी भएकामा एक मत मात्रै बदर भएको छ । तर, निर्वाचनमा यो बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली बताउँछन् । धेरै दलबीच भएको गठबन्धन नै मत बदरको चुनौती भएको उनको तर्क छ । गठबन्धनका उम्मेदवारलाई तलमाथि गरेर मत दिनुपर्ने भएकाले बदरको जोखिम बढी हुने उनले बताए ।
 
दाङ :  ६४ मत खस्दा ५ बदर

दाङको बंगलाचुलीमा लुम्बिनी प्रदेश निर्वाचन आयोगले गत शनिबार आयोजना गरेको नमुना मतदानमा ६४ मत खसेकोमा पाँचवटा बदर भए । कर्मचारी, सुरक्षाकर्मी र समाजका अगुवाले मतदान गरेका थिए । तर, शुक्रबारको मतदानमा बदर दर घट्ने निर्वाचन कार्यालयका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीको दाबी छ । ‘नागरिकले एकपटक पालिका तहको चुनावमा भाग लिइसकेको र निर्वाचन आयोग तथा दलका उम्मेदवारबाट पनि मतदाता शिक्षाका कार्यक्रम सञ्चालन भएका छन्,’ उनले भने, ‘त्यसैले यसपटक बदर संख्या न्यून हुन सक्छ ।’ 

ताप्लेजुङ : १३ प्रतिशत बदर

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा मंगलबार भएको नमुना मतदानमा १३ प्रतिशत बदर भएको छ । ५१ मत झरेकामा सात बदर भएको निर्वाचन कार्यालय प्रमुख दिनेश खनालले बताए । शुक्रबार हुने मतदानमा बदर मत बढ्ने चिन्ता नमुना मतदानको नतिजाले देखाएको सहभागी अधिकारीहरूको बुझाइ छ । 

प्युठान : एकै लहरमा मत दिँदासमेत १५ प्रतिशत बदर

निर्वाचन कार्यालयले मल्लरानी गाउँपालिका– ४ स्थित जनजागृति माविमा गरेको नमुना मतदानमा ५५ स्थानीय सहभागी थिए । तर, एकै लहरमा भोट हाल्दा पनि चार पूर्ण र चार आंशिक बदर भएको निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । जिल्लाका सबै पालिकामा गठबन्धन भएकाले बदर झन् बढ्ने आकलन छ । 

मनाङ : ३४ मा तीन मत आंशिक बदर 
हिमाली जिल्ला मनाङमा जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानमा ३४ मत खसेको थियो । तीन मत आंशिक बदर मात्रै भएको निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

गुल्मी : ९० मतमा १२ बदर
२३ वैशाखमा धुर्कोटमा भएको नमुना निर्वाचनमा ९० मत खसेकोमा १२ बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय सबै उमेर समूहका विद्यार्थी, क्लब, रेडक्रस, दल र नागरिक समाजका प्रतिनिधिले मतदान गरेको धुर्कोट गाउँपालिकाकी निर्वाचन अधिकृत मुना पौडेलले बताइन् । 

संखुवासभा : ५१ मतमा २ बदर 
आइतबार भएको मतदानमा ५५ मत खसेकोमा दुई मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रकाश बस्नेतले बताए । उनका अनुसार एक मतदाताले ल्याप्चे लगाएको र अर्काले बीचमा छाप हानेकाले बदर भएका हुन् ।  

निर्वाचन कर्मचारीको मात्रै मतदानमा पनि ५% बदर 
नुवाकोटमा दुई नमुना मतदान भए । एउटा सर्वसाधारणसहितको र अर्को तालिमकै क्रममा निर्वाचन कर्मचारीहरूको । मतदान गराउने अधिकृत तथा कर्मचारीले नै गरेको नमुना मतदानमा पाँच प्रतिशत मत आंशिक बदर भएको छ । ‘पाँच सय ९० मत खसेकोमा पूर्ण बदर त एउटा पनि भएन, तर आंशिक बदर भने पाँच प्रतिशत रह्यो,’ जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले भने । त्यस्तै, सर्वसाधारणसहित बट्टार क्याम्पस मतदानस्थलमा भएको नमुना मतदानमा भने नौ प्रतिशत बदर भएको छ । ६२ मत खसेकामा तीन मत पूर्ण र अन्य केही आंशिक बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

कतै न मतदाता शिक्षा न नमुना मतदान
विगतमा मतदाता शिक्षा कार्यक्रममार्फत गाउँगाउँमा पुगेर मतदान गर्ने तरिका सिकाउँदा पनि बदर दर धेरै नै थियो । तर, यसपालि त निर्वाचन आयोगले नै मतदाता शिक्षामा यस्तो कार्यक्रम समावेश नै गरेन । कतिपय जिल्लामा त नमुना मतदान पनि भएका छैनन् । सिराहामा पनि नमुना मतदान भएको छैन । मतदान सामग्री वितरणको चाँजोपाँजो मिलाउँदैमा समय नभएर नमुना मतदान गर्न नसकिएको निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले बताइन् । मोरङमा पनि निर्वाचन कार्यालयले कार्यव्यस्तताको कारण देखाउँदै नमुना मतदान गरेको छैन । निर्वाचन अधिकृत लेवन अधिकारीले समय अभावका कारण नमुना मतदान गर्न नसकेको बताए ।

कतै औपचारिकताका लागि मात्रै नमुना मतदान
काभ्रेको धुलिखेलमा २० र २१ वैशाखमै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण तालिम दिएपछि नमुना मतदान पनि भयो । तर, नमुना मतदान औपचारिकता पूरा गर्न मात्रै थियो । कति मत खस्यो र कति बदर भयो गणना नै गरिएन । मतदानमा दुई सयजति सहभागी भएको, तर बाकसको मत गणना नगरिएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताए । निर्वाचन कार्यालय धनुषाले पनि आइतबार नमुना मतदान गरेकोमा कति मत खस्यो, कति बदर भयो भन्ने हिसाब नै गरेन । समय अभावका कारण नमुना मतदानको नतिजा दिन नसकेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख श्रीधर पन्थीको जवाफ छ ।

नयाँ मतदातालाई झन् सकस 
तनहुँको व्यास नगरपालिका– २ की १८ वर्षीया एलिना कुमाल शुक्रबार पहिलोपटक मतदान गर्दै छिन् । त्यसअघि २० वैशाखमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा दमौलीमा गरिएको नमुना मतदानमा उनी सहभागी हुने मौका पाइन् । तर, नमुना मतदानमा आफूलाई निकै गाह्रो भएको अनुभव सुनाइन् । ‘मलाई त नमुना मतदानमै मत दिन समय लाग्यो । अब ३० वैशाखमा त झन् कठिन होला,’ उनले भनिन्, ‘त्यतिखेर मत परेको उम्मेदवार चुन्नुपर्छ । छान्दा–छान्दा धेरै ठाउँमा छाप लगाइएला र मत नै बदर होला कि भन्ने डर छ ।’ व्यास– ५ पाटनकी १८ वर्षीया सुमिक्षा थापाले पनि नमुना मतदानमा पाँच मिनेट लगाएर भोट खसालेको अनुभव सुनाइन् । उक्त नमुना मतदानमा ६१ मत खसेकामा ११ मत आंशिक बदर भएका थिए । मेयरमा तीन, उपमेयरमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएका थिए । ‘विगतका निर्वाचनमा गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम हुन्थ्यो । यसपटक उक्त कार्यक्रम प्राथमिकतामा नपर्दा धेरैमा समस्या छ,’ जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले भने ।

See More On

सुझावित समाचार