उपत्यकाबाट बाहिरिए सात दिनमा चार लाख ३१ हजार

यान्त्रिक जाँचमा फेल भएका सवारी चलाउन रोक

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण
उपत्यकाबाट बाहिरिए सात दिनमा चार लाख ३१ हजार

काठमाडौंको जडीबुटीमा दसैँका लागि घर फर्किनेको भिड।नयाँ बसपार्क, कलंकी, कोटेश्वर र जडीबुटीलगायतका क्षेत्रमा यात्रुको चहलपहल बढ्नुका साथै सडकमा सवारीसाधनको चापसमेत बढेको छ। तस्बिर:अमुल थापा/नयाँ पत्रिका

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढिरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सात दिनको अवधिमा चार लाख ३१ हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन् ।

बिहीबार एकै दिन ८५ हजार ५६१ जना उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरीका एसपी नरेशराज सुवेदीले बताए । त्यस्तै, बुधबार ७४ हजार ९४७ र मंगलबार ७८ हजार १३८ जना उपत्यकाबाट बाहिरिएका छन् । 

‘२३ असोजदेखि २९ गतेसम्मको अवधिमा चार लाख ३१ हजार ४९२ जना यात्रु बाहिरिएको हाम्रो तथ्यांक छ,’ उनले भने, ‘शुक्रबार पनि नाकाहरूमा उच्च चाप छ । शनिबारसम्म चाप रहने र त्यसपछि घट्ने हाम्रो आकलन छ ।’

उपत्यकामा बस्दै आएकाहरू दसैँ मनाउन गृहजिल्ला जाने परम्परा छ । विगतका वर्षमा औसतमा १० लाखसम्मले उपत्यका छाड्ने गरेका छन् । चाडपर्वका समयमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको यान्त्रिक जाँचमा जोड दिएको छ ।

सवारीसाधनमा हुने यान्त्रिक गडबडीका कारण दुर्घटना हुन सक्ने भएकाले बसपार्क क्षेत्रमा जाँच गरेर मात्रै गन्तव्यतर्फ पठाउने गरिएको छ । एसपी सुवेदीका अनुसार यान्त्रिक जाँचका क्रममा ९६ वटा सवारीसाधन फेल भएका छन् । ती सवारीसाधनलाई कारबाही गरी मर्मत गरेपछि मात्रै चलाउन दिइएको उनले बताए ।

त्यस्तै, ट्राफिक प्रहरीले लामो दूरीका सवारीसाधनलाई लक्षित गरी दिउँसोको समयमा समेत मादकपदार्थ सेवन (मापसे) र लागुऔषध पदार्थ सेवन (लापसे)को जाँच गर्दै आएको छ । २५ असोजयता मापसेमा ४५५ र लापसेमा १८ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले लामो दूरीका सवारीमा दुईजना चालक राख्ने प्रावधानलाई पनि कडाइ गरेको छ । 

सुझावित समाचार