- तरकारी, खाद्यान्न, मासु, लत्ताकपडालगायत हरेक उपभोग्य वस्तुमा गत वर्षको दसैँको तुलनामा भारी मूल्यवृद्धि, कालीमाटी थोकबजारको भाउभन्दा खुद्रा तरकारी पसलमा ८०% सम्म महँगो भार झेल्दै उपभोक्ता
दुई दशकअघि नै गायक योगेश्वर अमात्यले गाएका थिए, ‘दसैँ नै हो कि यो मेरो दशा, कति आएको ?’ दसैँमा बढ्ने खर्च र आममान्छेले व्यहोर्नुपर्ने आर्थिक अभावको मनोसामाजिक विषय गीतले बोलेको छ । यसपालिको दसैँमा यो गीत थप सान्दर्भिक यसकारण बनेको छ कि हरेक चिजमा अचाक्ली महँगी बढेको छ ।
अमेरिका–इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको सर्वत्र असर, १० भदौमा भोटेकोशीमा भयानक बाढी आययता पटक–पटक भारी वर्षा, बाढी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्यालगायत कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ताकपडालगायत हरेक चिजमा गत वर्षको दसैँको तुलनामा भारी मूल्यवृद्धि भएको छ । कालीमाटी थोक बजारको तथ्यांकलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाउ गत दसैँको तुलनामा १०० प्रतिशतभन्दा बढीले महँगिएको छ । यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गरिएको छ । कालीमाटीबाहेक अन्य चोक र किराना पसलबाट बिक्री हुने भाउ झन् महँगो पर्छ ।
गत वर्ष घटस्थापनाको भोलिपल्ट अर्थात् ८ असोजको तुलनामा सोमबार कालिमाटीमा तरकारीको भाउ ३४१ प्रतिशतसम्म बढेको छ । अघिल्लो वर्ष १७ रुपैयाँ प्रतिकेजीमा कारोबार भएको लाम्चो भन्टाको मूल्य ७५ रुपैयाँ पुगेको छ । त्यस्तै, ६८ रुपैयाँ प्रतिकेजीमा कारोबार भएको हरियो धनियाँ अहिले २५० रुपैयाँमा कारोबार भएको छ । यो वृद्धिदर २६७ प्रतिशत हो ।
भान्सामा नियमित रूपले खपत हुने आलु र प्याजको भाउ पनि ठुलो अन्तरले बढेको छ । गत वर्ष ५४ रुपैयाँ प्रतिकेजीमा पाउने आलु अहिले ७७ रुपैयाँ पुगेको छ । त्यस्तै, सुकेको प्याज १३१ प्रतिशतले बढेर ८२ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । गत वर्ष सुकेको प्याज कालिमाटीमा औसत मूल्य ३५ रुपैयाँ प्रतिकेजी थियो । कालिमाटी बजारमा आलु र प्याजको थोक कारोबार गर्दै आएका व्यवसायी प्रकाश गजुरेल उत्पादनमा गिरावट आएका कारण आलुको भाउमा असर परेको बताए । यद्यपि, बजारमा २२ देखि ८० रुपैयाँ प्रतिकेजीसम्मको भाउमा आलुको कारोबार भइरहेको उनले बताए ।
‘सानो आकारको आलु २२ रुपैयाँ प्रतिकेजीमै पनि पाइन्छ । यो आलुमा मान्छेहरूको आँखा नै लाग्दैन,’ उनले भने, ‘ठुलो आकारको आलु खोज्नेहरूको संख्या धेरै छ, जसको मूल्य प्रतिकेजी ८० रुपैयाँ छ ।’
प्याजको मूल्यमा भने भारतमा भाउ बढेका कारण असर परेको गजुरेलले बताए । प्याजमा ९५ प्रतिशत आयातमा निर्भर हुनुपरेकाले भारतमा मूल्य बढ्नासाथ असर पर्ने गरेको उनको भनाइ छ । ‘भारतमा अहिले प्याज बिक्रीमा कडाइ भएकाले मूल्य बढेको छ,’ उनले भने, ‘उतैपट्टि मूल्य बढेर आएकाले हामीकहाँ असर परेको हो ।’ दसैँमा माछा–मासु धेरै खपत हुने भएकाले प्याजको माग अत्यधिक हुने गर्छ । त्यसैले, अहिलेको भाउले अत्याएको छ ।
नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिवसमेत रहेका गजुरेल कालिमाटी बजारमा भित्रिएका सबै हरियो तरकारीको भाउ बढेको छ । एक वर्षअघिको भाउसँग तुलना गर्दा स्वाभाविक रूपमा वृद्धिदर देखिने उनले बताए ।
दसैँमा सबैभन्दा बढी खपत हुने माछा–मासुको भाउ पनि अकासिएको छ । सबैभन्दा बढी खसीको मासुको भाउ बढेको माछा–मासु व्यवसायी संघ, कलंकीले जनाएको छ । संघका अनुसार गत वर्ष दसैँमा जिउँदो खसीको मूल्य प्रतिकिलो ७ सय थियो । यसपालि बढेर ८५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, काटेको खसीको मासु काठमाडौंमा प्रतिकेजी १८ सय रुपैयाँ पुगेको छ, गत वर्ष दसैँमा १३ सय रुपैयाँ प्रतिकेजी थियो । कुखुराको मासु पनि गत वर्ष ४१० रुपैयाँ प्रतिकेजी रहेकामा अहिले ४५० मा कारोबार भएको छ । तर, कुखुराको मासु अब घट्ने व्यवसायीहरू बताउँछन् । ‘दसैँमा खसीको मासुको माग बढ्छ, त्यसैले कुखुराको मासुको भाउ अब घट्छ,’ राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने ।
माछा गत वर्ष दसैँमा प्रतिकेजी ४५० रुपैयाँमा कारोबार भएकामा अहिले ५ सय पुगेको छ । कालिमाटीस्थित धनुषा माछा पसलका सञ्चालकका अनुसार २ किलोभन्दा बढी तौलका माछाको मूल्य गत वर्ष ६ सय रुपयाँ रहेकामा यसपटक बढेर ७ सय पुगेको छ । बढी तौलको माछाले धेरै आहारा खाने हुँदा मूल्य धेरै पर्ने गरेको ती सञ्चालकले बताए ।
गत वर्षको दसैँको तुलनामा अन्डाको भाउ प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ । गत वर्ष २३ भदौबाट लागू हुने गरी लेयर्स कुखुरापालक संघले अन्डा प्रतिक्रेट ५६० रुपैयाँ तोकेको थियो । सोही भाउ गत वर्षको दसैँसम्म लागू भएको थियो । यसपालि भने संघले प्रतिक्रेट ६१५ रुपैयाँ भाउ निर्धारण गरेको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले पनि घिउको मूल्य प्रतिकेजी १ सय रुपैयाँले बढाएको छ । गत वर्ष दसैँमा ११ सय ५० रहेको डिडिसीको प्याकेट घिउ अहिले १२ सय ५० रुपैयाँ छ । डिडिसी दुध प्रतिपाउच १ रुपैयाँ बढेर ५० रुपैयाँ पुगेको छ ।
१० भदौको बाढीयता चीनबाट आपूर्ति रोकिएकाले फलफूलको बजार भाउ पनि बढेको छ । फलफूलमध्ये सबैभन्दा धेरै खपत हुने फुजी स्याउ गत वर्ष दसैँमा प्रतिकेजी २२० रुपैयाँ रहेकामा अहिले बढेर ३५० रुपैयाँ पुगेको छ । केरा प्रतिदर्जन १३० रुपैयाँ रहेकामा १५० पुगेको छ । केरा महिना दिनअघि प्रतिदर्जन २ सयसम्म पुगेको थियो । अम्बाको भाउ प्रतिकेजी १०० बाट बढेर २२५ पुगेको छ ।
दसैँमा घर जाने लामो दूरीका बस भाडासमेत कम्तीमा ५ सय रुपैयाँले बढेको छ । सरकारले निर्धारण गरेको दरअनुसार गत वर्षको तुलनामा यस वर्ष दसैँमा काठमाडौं–काँकडभिट्टा भाडादर ५१५ रुपैयाँ बढेको छ । अहिले काठमाडौं–काँकडभिट्टा सुपर डिलक्स बसको भाडा ३ हजार ८२ रुपैयाँ छ, जुन गत वर्ष २ हजार ५६७ रुपैयाँ थियो । त्यस्तै, काठमाडौं–धनगढी रुटको बस भाडा ५८२ रुपैयाँ महँगिएको छ । गत वर्ष दसैँमा २८ सय ९५ रुपैयाँ रहेको काठमाडौं–धनगढीको सुपर डिलक्स बसभाडा यसपालि ३४ सय ७७ निर्धारण भएको छ ।
लत्ताकपडामा २० प्रतिशतसम्म मूल्य वृद्धि
दसैँमा उच्च माग हुने लत्ताकपडाको मूल्य पनि २० प्रतिशतसम्म बढेको व्यवसायीले बताएका छन् । न्युरोड क्षेत्रमा जुत्ताचप्पल, लत्ताकपडालगायतको व्यापार गर्दै आएका व्यवसायीहरूको संगठन राष्ट्रिय व्यापार संघका अध्यक्ष हेमलाल खरेलले गत वर्षको दसैँको तुलनामा यसपालि १५ देखि २० प्रतिशतले महँगिएको बताए ।
‘गत वर्षभन्दा यसपालि लत्ताकपडामा १५–२० प्रतिशत भाउ बढेको छ,’ उनले भने, ‘त्यसो त भनेअनुसारको सामान आएको पनि छैन ।’ १० भदौको भोटेकोशी बाढीले केरुङ नाका बन्द भएपछि व्यवसायीले चीनबाट नयाँ कपडा ल्याउन पाएका छैनन् । कोरला नाकामा यसअघि नै भन्सार जाँचपास भएका १०० कन्टेनर लत्ताकपडा भने दसैँअघिसम्म ल्याउने गृहकार्य भइरहेको खरेलले बताए । ‘हिमपहिरो गएर कोरला बन्द हुनुअघि जाँचपास भएका करिब १०० कन्टेनर सामान ल्याउन लागिएको छ,’ उनले भने, ‘उपभोक्ताले खोजेअनुसार कपडा त पुग्छ, तर नयाँ मोडलको कपडा खोज्नेहरूलाई केही समस्या हुन सक्छ ।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबैतिर असर
गत फागुनदेखि जारी अमेरिका–इरान युद्धले पेट्रोलियम पदार्थको भाउमा ठुलो दरले वृद्धि भएको छ । जसकारण खाद्यान्न, तरकारी, लत्ताकपडा, माछा–मासुलगायतको भाउ वृद्धि हुँदा सर्वसाधारणको दैनिकी नै अस्तव्यस्त बनेको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार गत वर्षको दसैँअघि र अहिलेको मूल्य तुलना गर्दा पेट्रोल ३९, डिजेल र मट्टीतेल समान ५५ तथा हवाई इन्धन १२२ रुपैयाँ प्रतिलिटर तथा ग्यास १५० रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढेको छ । गत वर्ष ३० भदौमा तोकिएको मूल्य दसैँअघिसम्म लागू भएको थियो । त्यतिखेर निर्धारित मूल्यअनुसार पेट्रोल १६१, डिजेल र मट्टीतेल समान १४५ तथा हवाई इन्धन १२७ रुपैयाँ प्रतिलिटर र एलपी ग्यास १९ सय १० रुपैयाँ प्रतिसिलिन्डर थियो । अहिले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ समान २ सय र हवाई इन्धन २४९ रुपैयाँ प्रतिलिटर तथा ग्यास २ हजार ६० प्रतिसिलिन्डर निर्धारण भएको छ ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारभाउले नेपालमा मूल्य समायोजन गर्दा असर परेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र त्यसको प्रशोधन शुल्कमा ठुलो दरले वृद्धि भइरहेको छ । जसको असर नेपालमा पनि परेको हो,’ उनले भने, ‘तर, दुई महिनायता हामीले उपभोक्तालाई राहत दिन अन्तर्राष्ट्रिय बजार भाउअनुसार नेपालमा मूल्य समायोजन नगरी नियन्त्रण गरेका छौँ ।’ निगमले अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन नगरी चालू आव ०८३–८४ को असोज मसान्तसम्म साढे ६ अर्ब नोक्सान बेहोरेको उनले जानकारी दिए । ‘मूल्यवृद्धिबाट राहत दिनका लागि निगमले तीन महिनामा ६ अर्ब ६६ करोड नोक्सान बेहोरेर पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको छ,’ ठाकुरले भने ।
बढ्दो बजारभाउबारे के भन्छन् सरकारी अधिकारी र उपभोक्ताकर्मी ?
प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश शाक्यले दैनिक अनुगमन बढाइरहेको, तर मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको स्वीकार गरेका छन् । ‘विभागबाट खटिने टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको छ, तर हामीले मूल्य नियन्त्रणका लागि ठोस कदम चाल्न सक्ने अवस्था नै छैन,’ उनले भने, ‘बजारमा सबै प्रकारका चिजबिजको भाउ बढेकोबारे जानकार छौँ ।’
उनले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३३ मा रहेका २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था हटाइएकाले मूल्य नियन्त्रण गर्न कानुन अभाव रहेको बताए । ‘कसले कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानुनी व्यवस्था अहिले छैन । तर, हामीले अनुगमन गर्दा उस्तै प्रकतिको वस्तुको मूल्यमा दुईवटा पसलबिच ठुलो अन्तर देखियो भने निगरानी राख्नु भनेका छौँ,’ महानिर्देशक शाक्यले भने । उनले एमआरपीलाई कडाइका साथ लागू गर्न खोजे पनि मूल्य नियन्त्रणका लागि प्रभावकारी हुन नसकेको बताए ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सबै प्रकारका वस्तु तथा सेवाले सीमा नाघिसके पनि सरकारी निकाय मूकदर्शक मात्रै बनेर बसेको बताए । ‘हिजो कालोबजार ऐनमा भएको व्यवस्था हटाउने यिनै कर्मचारी र राजनीतिक नेतृत्व हुन् । अहिले समस्या आएपछि कानुन छैन भनेर पन्छिन मिल्दैन,’ उनले भने, ‘अनुचित मुनाफा लिन पाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन, ०७५ मा उल्लेख छ । सोही व्यवस्थाअनुसार निरीक्षण अधिृकतलाई अस्वाभाविक लागेका वस्तुको भाउबारे विश्लेषण गरेर कारबाही अघि बढाउनुपर्छ ।’
उनले मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन सरकारले कुनै पनि योजना पेस गर्न नसकेको पनि आरोप लगाए । ‘यत्रो बजार भाउ बढेको वेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम भएको छैन । उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनहुँ हैरानी खेपिरहेका छन्,’ उनले भने, ‘ठुलो संख्यामा अनुगमन गरेर बजारमा सरकारको उपस्थिति बढाउन जरुरी छ ।’