अध्यक्ष हटाउन खोज्दा क्षमा दिइयो, अब कठोर कारबाही हुन्छ

नेतृत्व हस्तान्तरणको मुद्दामा पौडेल–पोखरेलले ‘आत्मसमर्पण’ गरेपछि झनै कठोर बनेका ओलीको चेतावनी

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्दै केन्द्रीय कमिटी बैठकबाटै पुनर्गठनको मुद्दा ‘डिसमिस’ गराएपछि उत्साही एमाले अध्यक्ष केपी ओली पार्टीभित्र फरक मत राख्ने नेता–कार्यकर्तामाथि थप कठोर बनेका छन् । केन्द्रीय कमिटीबाट आफ्नो प्रस्ताव पारित गराउन सफल भएपछि ओलीले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाउने नेतामाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले सबै विवाद अन्त्य भएको र पार्टीलाई एकढिक्का बनाएको भन्दै ओलीले पुनर्गठन वा अन्य गतिविधिका नाममा हुने अराजकता र अनुशासनहीनता सह्य नहुने स्पष्ट गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि नै पार्टी पुनर्गठनको पक्षमा वकालत गरिरहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई समेत दायाँ–बायाँ राखी ओलीले दिएको चेतावनी अर्थपूर्ण मानिएको छ । 

पार्टी नीति, संस्थागत निर्णय र नेतृत्वविरुद्ध लागेर अनुशासनहीन काम गर्ने जोसुकै नेता–कार्यकर्तामाथि कारबाही गर्ने ओलीको चेतावनी छ । ‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले ‘कट–अफ डेट’मानेका छौँ । अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ,’ प्रदेश र जिल्लास्तरका अगुवा नेतालाई पार्टी केन्द्रीय कार्यालय ललिलपुर, च्यासलबाट भर्चुअल सम्बोधन गर्दै ओलीले भने । 

बैठकअघि पुनर्गठनको मुद्दा उठाइए पनि त्यस काममा लाग्ने नेता–कार्यकर्तालाई एकमुस्ट क्षमा दिइएको ओलीको भनाइ छ । ‘पुनर्गठन भनेर अध्यक्ष हटाउने अभियान चलाइयो, यो त अपराधपूर्ण क्रियाकलाप हो । तर, पनि केन्द्रीय कमिटी बैठकअघिका यी सबैमा क्षमा भयो । तर, अब क्षमा हुँदैन,’ ओलीले भने, ‘हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ । यो चुनावको तयारीको वेला हो । कोराकोर र हानाहान गर्ने समय होइन ।’

चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदलमा पुनर्गठनको विषय हटाएर प्रतिनिधि परिषद् बैठकमा जाने सर्वसम्मति थियो । यसको अर्थ र उद्देश्य ओलीलाई हटाउनु नभएकाले परिषद् बैठकमा केन्द्रीय कमिटी बैठकका निर्णय र नीतिबारे छलफल गर्ने भनिए पनि पौडेल र पोखरेलले ती विषयलाई केन्द्रीय कमिटीमै उठाउन सकेनन् ।

ओलीको विकल्प नभएको भन्दै उनले ल्याएको राजनीतिक प्रतिवेदन र कार्ययोजनाको पक्षमा उभिएपछि केन्द्रीय कमिटी बैठकको माहोल नै बदलिएको थियो । बैठकले ओलीको इच्छा, चाहना र योजनाअनुसार सर्वसम्मत रूपमा उनकै प्रतिवेदन र नेतृत्वलाई स्वीकार गर्‍यो । यही कुरालाई ओलीले पौडेल र पोखरेललाई सँगै राखेर कार्यकर्तामाझ प्रस्ट्याएनन् मात्र, क्षमा दिइएकाले अबका दिनमा गल्ती दोहोर्‍याउने काम नगर्न अप्रत्यक्ष चेतावनीसमेत दिए ।

कोशी, मधेश, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूमाझ उनले ‘लोकतन्त्रको पुनर्बहाली’ र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’ पार्टीको अबको मुख्य कार्यभार र गन्तव्य भन्दै जुट्न निर्देशन दिए । ‘दुई कार्यभार कतिखेर कुनमा फोकस हुने भन्ने कुरा पार्टीले निर्धारण गर्छ । निर्वाचनमा फोकस हुन्छौँ र जित्छौँ । जनसंगठनहरू डिफेन्समा छन् । अब रिअर्गनाइज हुन्छ,’ उनले भने ।

उनले नेता–कार्यकर्ताहरूलाई अर्जुन दृष्टिजस्तै एउटै लक्ष्यमा केन्द्रित हुन र ब्रुसलीको एकाग्रताजस्तै सम्पूर्ण तागत संगठन निर्माणमा लगाउन निर्देशन दिए । देशलाई जबर्जस्ती पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंस तथा आतंक मच्चाउने प्रयास गरिरहेकाले यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

फागुनको निर्वाचनमा भोग्नुपरेको क्षति, बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै ओलीले अबका दिनमा सामूहिक स्वार्थलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

अरू कुनै दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्र हुने भन्दै उनले कार्यगत एकता भने हुन सक्ने प्रस्ट्याए । ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन,’ पार्टी पदाधिकारीहरूसमेत सहभागी कार्यक्रममा ओलीले भने । 

प्रदेश र जिल्लास्तरका अगुवा नेतालाई पार्टी केन्द्रीय कार्यालय ललिलपुर, च्यासलबाट भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–

अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले ‘कट–अफ डेट’मानेका छौँ । अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।पुनर्गठन भनेर अध्यक्ष हटाउने अभियान चलाइयो, यो त अपराधपूर्ण क्रियाकलाप हो । तैपनि केन्द्रीय कमिटी बैठकअघिका यी सबैमा क्षमा भयो । तर, अब क्षमा हुँदैन । हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ । यो चुनावको तयारीको वेला हो । कोराकोर र हानाहान गर्ने समय होइन ।

See More On

सुझावित समाचार