धादिङ/धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– २, सेउलीबजारस्थित सुकुमवासी बस्तीकी पूर्णमाया गुरुङका आँसु थामिएका छैनन् । २५ वर्षअगाडि श्रीमान् गुमाइन् । अहिले बुढीगण्डकी बाढीले वास मात्रै बगाएन, वर्षौँको दुःख, पसिना र संघर्षले जोडेको जीवनको आधार आफ्नै आँखाअगाडि छिनभरमै बगायो । ‘भागेर ज्यान बचाएँ, तर बाँकी केही रहेन । दुई मुठ्ठी सास जोगाउन अब कहाँ जाऊँ ?’ उनले भनिन् ।
गाउँपालिकाले चुलीदेवी माध्यमिक विद्यालयमा बनाइदिएको होल्डिङ सेन्टरको एउटा कुनामा बसेकी पूर्णमाया श्रीमान् गुमाएको विगतको त्यो पीडा सम्झिँदै भक्कानिइरहेकी थिइन् । ‘विवाह गर्दा श्रीमान्ले घर पोखरा भन्नुहुन्थ्यो । तर, घरै नचिनाई २५ वर्षअघि सामान्य पेट दुखेको समस्याले श्रीमान्को मृत्यु भयो । ज्याला मजदुरी गरेर, खाइनखाई छोराछोरी हुर्काएँ,’ भित्तामा अडेस लाग्दै आँसु पुछ्दै उनले भनिन्, ‘उनले ‘दुःख गरेर कमाएको पैसाले ओत लाग्ने छानो फेरेकी थिएँ । छोराछोरी पनि हुर्किए । अब सुखको दिन आउला भन्ने सपना थियो, बुढीगण्डकी बाढीले ज्यानबाहेक घरसँगै सबै बगायो ।’
गत आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुलसहित सेउलीबजारको ५८ घरपरिवारलाई विस्थापित बनायो । गाउँपालिकाले सञ्चालन गरेको होल्डिङ सेन्टरमा आश्रय लिएकाहरू विभिन्न संघसंस्थाको खाद्यान्न, कम्बल, त्रिपाल, म्याट, झुललगायतका राहत सामग्रीको भरमा दैनिकी चलाइरहेका छन् । तर, राहतले उनीहरूको तत्कालको भोक मेटिए पनि भविष्यको चिन्ता मेटिएको छैन । उनीहरूलाई भोलिको गाँस, बास र कपासकै ठुलो चिन्ता छ ।
नारायणबहादुर नगरकोटीको देब्रे हातखुट्टा चल्दैन । उनलाई उच्च रक्तचापको पनि समस्या छ । उनकी श्रीमती पनि कान नसुन्ने समस्याबाट पीडित छिन् । बाढी आउँदा उनीहरूका लागि सुरक्षित ठाउँसम्म पुग्नु नै ठुलो चुनौती बन्यो । जसोतसो भागेर ज्यान जोगाए पनि घरभित्रका सामान निकाल्ने अवसर पाएनन् ।
‘चार पाउ टेकेर बल्लतल्ल ज्यान जोगायौँ । घरसँगै सबै बगायो । पकाउने भाँडा, चलाउने सामान, पशुचौपाया केही बाँकी रहेन,’ उनले भने, ‘घरमा कमाउने पनि कोही छैन । न म काम गर्न सक्छु, न श्रीमतीले कमाउन सक्छिन् । सधैँ राहत त आउँदैन, अब कसरी बाँच्ने ? ठुलो बिचल्ली भयो ।’
सेते परियारका लागि पनि अहिले अरूकै भरमा छाक टार्नुपर्ने अवस्था छ । बाढीले बस्दै आएको छाप्रो बगाएपछि उनीसँग सुरक्षित आश्रय छैन । बाढी आउँदा भागाभाग भएको क्षण सम्झिँदा उनलाई अहिले पनि आङ सिरिंग हुन्छ । ‘सबैले भागभाग भनेपछि ज्यान जोगाउन दौडियौँ । आँखैअगाडि घर बग्यो । होसै हराएकोजस्तो गरी भागेर बाँचियो,’ उनले भने, ‘पछि आएर हेर्दा घर भएको ठाउँमा घरभन्दा अग्लो लेदो थुप्रिएको थियो । अब त्यहाँ के बाँकी रह्यो र ?’
बाढीले घरबार गुमाएका परिवारमध्ये १७ वर्षीया मनमाया गुरुङको चिन्ता अरूको भन्दा फरक छ । उनी गर्भवती छिन् । चिकित्सकले कात्तिक १ गते सुत्केरी हुने समय दिएका छन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा उनलाई सुरक्षित बसोबास, खानपान र उपचार खर्चको चिन्ताले सताएको छ ।
सुत्केरी हुँदा मिठोमसिनो खाने र आवश्यक खर्च जुटाउने आशाले उनले केही रकम जम्मा गरेकी थिइन् । तर, त्यो रकम पनि घरसँगै बाढीले बगायो । अहिले उनीसँग न घर छ, न सुत्केरीका लागि आवश्यक सामग्री जुटाउने आधार । ‘बाढीबाट भाग्दाभाग्दै ज्यान बच्यो । धन्न पेटभित्रको बच्चालाई असर गरेन,’ उनले भनिन्, ‘सुत्केरी हुँदा चाहिन्छ भनेर जम्मा गरेको पैसा पनि घरसँगै बगायो । अब खर्च कसरी जुटाउने ? न खानेकुरा छ, न बस्ने घर, न लगाउने कपडा । अब हामीलाई कसले सुरक्षित ठाउँमा सारिदेला ?’
दसैँभन्दा गाँस र बासै चिन्ता
नेपालीका लागि दसैँ पारिवारिक भेटघाट, टीकाटाला र खुसी साटासाट गर्ने पर्व हो । तर, सेउलीबजारका विस्थापित परिवारका लागि यसपटक दसैँ खुसीभन्दा बढी पीडा बोकेर आएको छ । घर छैन, अन्नपात छैन, लत्ताकपडा छैन । वर्षभरि दुःख गरेर चाडपर्वका लागि जुटाएको सामग्रीसमेत बाढीले बगायो ।
धनमाया घले भन्छिन्, ‘विगतका दसैँ सम्झिँदा अहिले झन् पीडा हुन्छ । पहिले आफन्त र परिवारका सदस्य भेला भएर रमाइलो गरिन्थ्यो । घरमा चाडपर्वको रौनक हुन्थ्यो । यसपालि भने बाढीले घरसँगै दसैँको खुसी पनि बगायो ।’
‘ठ्याक्कै दसैँको वेला बाढी आयो । भोटेकोशीको बाढी बिर्सन सकेकी थिइनँ, अहिले आफैँले भोग्नुपर्यो । दसैँ दशा बनेर आयो,’ उनले भनिन्, ‘पकाउने भाँडादेखि ओढ्ने ओछ्याउने र लगाउने कपडासम्म केही बाँकी रहेन । जीवनभरको कमाइ बगायो । सम्झिँदा पनि भक्कानिएर रुन मन लाग्छ ।’
घले समुदायमा दसैँको छुट्टै रौनक हुने गरेको उनी सम्झिन्छिन् । आफन्त भेला हुने, टीकाटाला गर्ने र रमाइलो गर्ने दिन अब विगतको सम्झनामा सीमित भएका छन् । ‘हामी घले हौँ । पहिले भेडा ल्याउँथ्यौँ, दसैँमा बेस्सरी रमाइलो गरिन्थ्यो । यसपालि न घर छ, न दसैँको रौनक,’ उनले भनिन्, ‘एक पेट खान र टाउको लुकाउने ठाउँ पाए त्यही नै दसैँभन्दा ठुलो कुरा हुन्थ्यो ।’
माया गुरुङको पीडा पनि उस्तै छ । बाढीले घरसँगै खसीबोका, बंगुर र घरभित्रका सबै सामग्री बगाएको उनी बताउँछिन् । विस्थापित भएपछि कहाँ जाने र कसरी जीवन चलाउने भन्ने अन्योल छ । ‘जानीजानी मर्न त भएन, तर बाँच्ने बाटो पनि देखिएन,’ उनले भनिन्, ‘पहिले दसैँमा सबै भेटघाट हुन्थ्यो, टीकाटाला लगाएर रमाइलो गरिन्थ्यो । अहिले कहाँ बस्ने, कहाँ सुत्ने भन्ने ठेगान छैन । अब त दसैँभन्दा पनि बस्ने र खानेकै चिन्ता छ ।’
मायाका लागि पुरानो बस्तीमा फर्किनु पनि सहज छैन । बाढीले बस्तीको स्वरूप नै बदलिदिएको छ । वर्षौँदेखि बस्दै आएको ठाउँमा फेरि घर बनाएर बस्न सकिने अवस्था नरहेको उनी बताउँछिन् ।
बेगबहादुर घलेले साथीहरूले फोन गरेर बाढी आउँदै गरेको सूचना पाएपछि भागेर ज्यान जोगाएको बताउँछन् । तर, घरभित्रका सामान निकाल्ने समय पाएनन् । शरीरमा लगाएको एक जोर कपडाबाहेक उनीसँग केही बाँकी रहेन । ‘एउटा चम्चासमेत झिक्न पाइएन । ज्यान जोगियो, त्यही ठुलो कुरा भयो । दसैँ आयो, तर न मनमा उज्यालो छ, न बस्तीमा रौनक । भोलि कहाँ बस्ने भन्ने ठेगान छैन । त्यही ठुलो चिन्ता छ ।
सेउलीबजारमा घर नभएका तर भाडामा बसेर सानोतिनो काम गरी गुजारा चलाउँदै आएका परिवार पनि बाढीबाट प्रभावित भएका छन् । सारुमाया गुरुङ त्यस्तैमध्येकी एक हुन् । उनको आफ्नै घर थिएन । भाडामा बसेर काम गर्दै उनले जीवन चलाइरहेकी थिइन् । अहिले शरीरमा लगाएको कपडाबाहेक उनीसँग केही बाँकी छैन । ‘श्रीमान्ले पनि छोडपत्र गरेर जानुभयो । विदेशमा धेरै दुःख गरेर नेपाल फर्किएकी थिएँ । आफ्नै देशमा केही गर्छु भनेर आएकी थिएँ,’ उनले भनिन्, ‘अहिले बाढीले मबाहेक केही बाँकी राखेन । सरकारले पनि हाम्रो अवस्था देखेकै छ । सुरक्षित ठाउँमा कतै सारिदिए बाँच्ने आधार हुन्थ्यो कि !’
५८ परिवार होल्डिङ सेन्टरमा
- दसैँपछि विस्थापित परिवारलाई दीर्घकालीन व्यवस्थापन हुन्छ : अध्यक्ष उप्रेती
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीबाट विस्थापित ५८ परिवारलाई चुलीदेवी माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर बनाएर तत्कालका लागि खाने र बस्ने व्यवस्था गरिएको छ ।
५८ घर परिवारमध्ये ७ घर परिवार मात्रै धादिङ हुन् । ५१ परिवार गोरखा मान्खुका हुन् । ‘५१ परिवार गोरखा नै जान्छन् । सात परिवारलाई दसैँपछि दीर्घकालीन व्यवस्थापन गर्छौँ,’ उनले भने, ‘हामी निरन्तर छलफलमा छौँ । विभिन्न संघसंस्थाले घर बनाइदिन सहयोग गर्ने भनेको छ । दसैँलगत्तै काम थालेर सकभर चाँडै सुरक्षित ठाउँमा पुनर्स्थापना गर्छौँ ।’