पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा मात्रै मिटरब्याजसम्बन्धी एक हजार ४८५ वटा उजुरी परेका छन् । त्यसमध्ये गम्भीर किसिमका घटनामा ८९ वटा मुद्दा अदालतमा, ३५ वटा मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको तथा कतिपय छानबिनमा छन् । जबकि तराईका जिल्लामा मिटरब्याजका समस्या धेरै छन् ।
१४ साउन ०८० मा अनुचित लेनदेन तथा मिटरब्याजसम्बन्धी कानुन आएकोमा एक वर्षपछि यससम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिइएको थियो । सोहीअनुसार काठमाडौं परिसरले ६ असार ०८१ देखि यससम्बन्धी निवेदन लिन थालेको हो । एक हजार ४८५ उजुरी त्यसयताका हुन् ।
‘हामीले निवेदन लिन थालेयता एक हजार ४८५ निवेदन परेका छन्,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापा भन्छन्, ‘त्यसमध्ये १३५ वटा निवेदनमा मिलापत्र भएको छ भने ८९ वटा मुद्दा दायर भएका छन् । अन्य उजुरीमध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी छ ।’
चार वर्षअघि मिटरब्याजपीडितले गरेको आन्दोलनपछि सरकारले यससम्बन्धी छुट्टै कानुन बनाएको हो । सुरुमा सिडिओलाई यससम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिइएकोमा १२ वैशाख ०८१ मा अनुचित लेनदेन कारोबारसम्बन्धी छुट्टै कानुन बनाएर प्रहरीमार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार दिइएको हो ।
ठुलो संख्यामा उजुरी परे पनि मिटरब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था छ । आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले अनुसन्धान कठिन हुने प्रहरी अधिकारी बताउँछन् ।
कतिपय अवस्थामा चेक बाउन्सको मुद्दा छल्न पनि केहीले मिटरब्याजको उजुरी गर्ने गरेका छन् । ठुला मिटरब्याजीले भने लेनदेनका अन्य कागज बनाएर मिटरब्याज प्रमाण लुकाएर यस्तो कारोबार गर्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।
मिटरब्याजसम्बन्धी समस्या हल गर्न सरकारले पटक–पटक आयोग गठन गरे पनि समाधान हुन सकेको छैन । पीडितहरू बारम्बार आन्दोलन गर्न बाध्य छन् । पछिल्लोपटक १ असारमा पीडितहरूसँग सरकारले वार्ता गरी सहमति गरेको थियो । जसमा मिटरब्याजलाई वित्तीय अपराध घोषणा गरी यससम्बन्धी विशेष ऐन बनाउनेलगायतका विषय छन् । सहमति पूर्ण रूपमा कार्यान्वयन नभएको पीडितहरू बताउँछन् ।
सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
केही मिटरब्याज आरोपीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ । केहीविरुद्ध मुद्दा दायर भइसकेको र केहीको हकमा अनुसन्धान जारी रहेको विभाग स्रोत बताउँछ । विभागले दुई वर्षअघि नै श्याम परदेशी भन्ने श्यामप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको थियो । वीरेन्द्रलाल श्रेष्ठलगायतको हकमा अनुसन्धान जारी रहेको विभागका एक अधिकारी बताउँछन् ।
श्रेष्ठ काठमाडौंमा बसेर लामो समयदेखि मिटरब्याजको धन्दामा संलग्न रहेको आरोप लाग्दै आएको छ । उनीविरुद्ध प्रहरीमा पनि उजुरी छन् । पछिल्लोपटक उनीविरुद्ध लक्ष्मी पाठक, ओम शाक्य, नरेन्द्र प्रधान, सन्दीप श्रेष्ठको उजुरी परेको काठमाडौं परिसरका एक अधिकारीले बताए। उनले दर्जनौँ व्यक्तिविरुद्ध चेक बाउन्स तथा चेक अनादरको मुद्दा दायर गरेका छन् । मिटरब्याजबाटै करोडौँ सम्पत्ति आर्जन गरेको प्रमाणसहित उजुरी परेपछि विभागले उनीमाथि छानबिन थालेको हो । मिटरब्याजमा संलग्न अन्य केही व्यक्तिको पनि सम्पत्तिमाथि छानबिन भइरहेको विभागका एक अधिकारीले बताए ।