प्रधानमन्त्री देउवा चितवनमा

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

पाँचदलीय गठबन्धनको आमसभामा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । बिहीबार भरतपुरमा हुने आमसभालाई सम्बोधन गर्न देउवा चितवन बुधबार साँझ चितवन आइपुगेका हुन् । 

भरतपुरको केन्द्रीय बस टर्मिनलमा बिहीबार हुने चुनावी सभालाई देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम्ल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री गगन थापा, डा.शेखर कोइरालालगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । 

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले नेकपा (माओवादी केन्द्र) की रेनु दाहाललाई पुनः मेयरमा उठाएको छ । उपमेयरमा  कांग्रेसका नेता चित्रसेन अधिकारी उम्मेदवार छन् । 
भरतपुरको मेयर कांग्रेसले नपाएपछि असन्तुष्ट बनेका चितवनका कांग्रेस नेता र कार्यकर्ताहरूले पुराना नेता जगन्नाथ पौडेललाई मेयरमा अघि सारेका छन् । पार्टीको निर्णय अवज्ञा गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल चुनाव चिह्न भुइँकटर लिएर प्रचार अभियानमा छन् । 

सभाको अघिल्लो दिन आएका देउवाले भरतपुरका असन्तुष्ट कांग्रेस नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । 

भरतपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका थिए ।

सुझावित समाचार