सोमबार सेयर बजार ३४ दशमलव ९५ अंकले घटेर दुई हजार तीन सय ८६ दशमलव शून्य १ बिन्दुमा आइपुगेको छ । आइतबार दुई हजार तीन सयको टेवा पाएर ९५ अंकले बढेको बजारमा पुनः ब्रेक लागेको हो ।कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको सूचक मात्र सामान्यले बढेको छ ।
विकास बैंक समूह, अन्य समूह, लगानीगत समूहका सूचक दुई प्रतिशतले घटेका छन् । जलविद्युत् समूह, जीवन बिमा समूह, फाइनान्स समूह र निर्जीवन बिमा समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।
बजारमा कारोबार सुरु भएदेखि नै उत्तारचढाव देखिँदा लगानीकर्ता प्रोफिट बुकिङ गर्नपट्टि लागेकाले बजारमा थप चाप परेको ब्रोकर बताउँछन् । एक ब्रोकर भन्छन्, ‘बजार निकै घटेर बढ्दा लगानीकर्ताले सुरुदेखि नै प्रोफिट बुकिङ गरेका छन्, विक्रेताहरू हाबी हुँदा बजारमा थप चाप पर्न पुग्यो र अन्तिममा घटेर बजार बन्द भयो ।’
आर्थिक संकट आउने हल्लाबीच बजार नियमित घटिरहेको थियो । यसै समयमा बजारमा स्थानीय तहको चुनाव हुने लगभग पक्का भएको र विश्व बैंकले नेपालको अवस्था श्रीलंकाको जस्तो नरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस्तै, धितोपत्र बोर्डले ब्रोकरहरूले समेत कर्जा दिन सक्ने मार्जिन कर्जासम्बन्धी कार्यविधि संशोधन गरेपछि लगानीकर्ता उत्साहित भएका थिए । यद्यपि, अघिल्लो दिन उच्च अंकले बढेको हुँदा करेक्सनका रूपमा लिनुपर्ने लगानीकर्ताले बताए ।
यस दिन एक सय ६३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा सेन्ट्रल फाइनान्स, रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ पावर कम्पनी र हिमालयन ऊर्जा विकास कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य ४ प्रतिशतदेखि पाँच दशमलव ३३ प्रतिशतले घटेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३९ कम्पनीको ५० लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब चार करोड रुपैयाँको कारोबार भएको छ । आइतबार दुई अर्ब ५३ कारोबार भएको थियो । अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनीको सेयर पाँच करोड रुपैयाँदेखि आठ करोड रुपैयाँसम्मको कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इक्युटी फन्डको ४ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्ग कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव १९ अंकले घटेर चार सय ५४ दशमलव ६९ बिन्दुमा आइपुगेको छ ।