ताप्लेजुङ। गाउँघरमा किसानले आफ्नै परिवारको उपभोगका लागि उत्पादन गर्दै आएको कोदो अहिले महत्त्वपूर्ण खाद्यबालीका रूपमा स्थापित हुँदै गएको छ ।
कोदोका परिकार सहरबजारका होटेल तथा रेस्टुरेन्टका मेनुमा समेत समेटिन थालेपछि यसको लोकप्रियता बढ्दै गएको हो ।
स्वास्थ्यप्रति बढ्दो सचेतना र स्थानीय खानाका परिकारप्रति उपभोक्ताको आकर्षण बढेसँगै ताप्लेजुङमा कोदोको माग पनि बढ्न थालेको छ । कोदोको ढिँडो, रोटी तथा अन्य परिकार खाने क्रम बढे पनि मागअनुसार उत्पादन भने पर्याप्त हुन सकेको छैन ।
गाउँघरमा सामान्य खाद्यान्नका रूपमा प्रयोग हुँदै आएको कोदो अहिले पौष्टिक खाद्यबालीका रूपमा चिनिन थालेको छ । चामललगायत अन्य खाद्यान्नको विकल्पका रूपमा समेत कोदोको प्रयोग हुन थालेपछि उपभोक्तामा यसको आकर्षण बढेको हो । विशेषगरी कोदोको ढिँडो र रोटी रुचाउने उपभोक्ताको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा करिब तीन हजार हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट चार हजार ३२० मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा कोदोखेती हुने गरे पनि अन्य खाद्यबालीको तुलनामा यसको खेती कम क्षेत्रफलमा हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जयबहादुर रेगामी मगरले पछिल्लो समय कोदोको महत्त्व बुझ्ने क्रम बढेसँगै किसानमा यसको खेतीप्रति चासो बढ्दै गएको बताए । धानखेतीसँगै कोदो पनि पाक्ने भएकाले किसानले दुवै बाली एकै समयमा भित्र्याउने गरेका छन् । किसानका अनुसार कोदो कात्तिकको पहिलो सातादेखि मंसिरको पहिलो सातासम्ममा भित्र्याउने गरिन्छ ।
आठराई त्रिवेणी गाउँपालिका– ३, हाङपाङकी किसान राधिका गुरुङले पछिल्लो समय कोदोको महत्त्व र यसको उपभोगबाट हुने फाइदाबारे उपभोक्ताले बुझ्न थालेपछि किसान पनि यस खेतीतर्फ आकर्षित हुन थालेको बताइन् । पहिले सीमित किसानले मात्र कोदोखेती गर्ने गरे पनि अहिले यसको खेती विस्तार हुने क्रम देखिएको उनको भनाइ छ ।
स्थानीयस्तरमै उत्पादन हुने कोदोको मूल्य गाउँघरमा समेत राम्रो रहेको छ । गाउँघरमा एक पाथी कोदोको मूल्य २५० देखि तीन सय रुपैयाँसम्म पर्ने गरेको छ । मूल्य राम्रो भए पनि मागअनुसार कोदो पाउन कठिन हुने गरेको उपभोक्ताहरू बताउँछन् ।
कोदोखेती धान र मकैखेतीजस्तो सहज छैन । यसको रोपाइँदेखि गोडमेल र बाली भित्र्याउने समयसम्म किसानले बढी मिहिनेत गर्नुपर्ने हुन्छ । यद्यपि, कोदोको महत्त्व बुझ्दै गएपछि यसको खेती गर्ने किसानको चासो पनि बढ्न थालेको छ ।
स्थानीयस्तरमै उत्पादन हुने रैथाने बालीको उचित मूल्य र बजार सुनिश्चित गर्न सके किसानलाई थप प्रोत्साहन मिल्ने देखिन्छ । कोदो केवल परम्परागत खाद्यान्न मात्र नभई स्थानीय कृषि पहिचान र पोषणसँग जोडिएको महत्त्वपूर्ण बाली पनि हो । यसको माग बढिरहेका वेला उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके ताप्लेजुङका किसानले गाउँमै उत्पादन हुने रैथाने बालीबाट राम्रो आम्दानी लिन सक्ने सम्भावना देखिन्छ ।